Sunday, October 27, 2024

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप

Share

असोज २५, काठमाडौं –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ।

प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए।

‘थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो’, उनले भने।

प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ।

त्यस्तै २०७६ वैशाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ।

हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ। प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी २०७५ कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरेको छ।

गुनासो सुनुवाइबाट आएका र पुनःसर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ।

त्यस्तै, दुई लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा छन्।

पहिलो किस्ता लिएर पनि घर नबनाएका भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन निर्देशन दिइसकेको छ। अनुदान फिर्ता नगरे राज्यको सेवा सुविधाबाट समेत वञ्चित गरिने प्राधिकरणले जनाएको छ।

Read more

Local News