चौतर्फी आलोचना भएपछि वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ मा उपचुनाव गराएर संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ मा पार्टी भित्रकै अर्न्तघातका कारण पराजित हुनु परेको भन्दै उनले जितेका सांसदलाई राजीनामा गराएर सांसद बन्न लागेका थिए ।
काठमाडौं ७ का सांसद रामवीर मानन्धरले उनका लागि पद त्याग्न तयार भए पनि चौतर्फी आलोचना र पार्टीभित्रै शीर्ष नेताको साथ नपाएपछि वामदेव उपचुनावबाट पछि हटेका हुन् । वामदेवका लागि मानन्धरले दिएको स्वीकृत पत्र र पत्रकारसम्मेलन पछि नेता गौतमको चर्को आलोचना भएको थियो ।
पार्टीभित्र र बाहिर दुवैतिरबाट उनको आलोचना हुन थालेपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्श र वस्तुस्थिती अध्ययन गरेर गौतम चुनावबाट पछि हटेका हुन् । वामदेव निकट स्रोतका अनुसार शुक्रबार ( आज ) विज्ञप्ति मार्फत धारणा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
सोमबार सांसद मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि वामदेवको आलोचना सुरु भएको थियो । नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तलसम्म पुर्याउनका लागि बसेको सचिवालय बैठकमा प्रचण्डले वामदेवका लागि रामवीरले छाड्न तयार भएको पत्र प्रस्तुत गरेका थिए ।
अन्नपूर्णबाट