Sunday, October 27, 2024

जुम्लाका १० गाउँबस्ती छाउँगोठमुक्त घोषणा

Share

जुम्ला – जुम्लाका १० गाउँबस्ती छाउँगोठमुक्त घोषणा गरिएका छन् । पछिल्लो समय तातोपानी गाउँपालिका– ५ को लाम्रा गाउँलाई मंगलबार छाउगोठमुक्त घोषणा गरिएको हो ।

यस अघि यही गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिसकेको छ । गएको असोज ५ गते तातोपानी गाउँपालिकाको वाइराका गाउँ पनि छाउगोठमुक्त घोषणा गरिएको थियो । त्यसैगरी तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिकाको माथिल्होर्प र तलिल्होर्प गाउँ छाउगोठमुक्त घोषणा भइसकेका छन् ।

लाम्रा गाउँका विभिन्न महिला समूह, महिला संजाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन वक्सजस्ता गैरसरकारी संस्थाको जनचेतना मुलक कार्यक्रममा यी गाउँमा छाउप्रथा हटाइएको हो । तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याका अनुसार अहिले महिलामा केही चेतनाको विकास भएको छ, अझै पनि यस विषयमा स्थानीय तहदेखि सरोकारवाला निकायहरुले जोड दिनु आवश्यक छ । यसका लागि गाउँपालिकाले पनि काम गरिरहेको छ ।

महिलाको सुरक्षादेखि रहेक विषयमा विशेष सहयोग गर्ने श्रीमान तथा परिवारलाई स्थानीय तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी गाउँपालिका – ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो । समाजमा कुप्रथाको रुपमा रहेको यो चलन हटाउन सकेमा महिलाहरुको अधिकार र विकासमा सकारात्मक परिवर्तन हुने उहाँको दाबी छ ।

तीन सय ५० घरधुरी रहेको लामामा गाउँ मंगलबार औपचारिक रुपमा छाउगोठमुक्त घोषणा गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँबासीन्दाले छाउप्रथा नमान्ने प्रतिज्ञा गरेका छन् ।

Read more

Local News