9.5 C
Alba Iulia
Tuesday, October 27, 2020
No menu items!

गैँडा मार्ने तस्करलाई उन्मुक्ति : निकुञ्जमा घुँगी टिप्ने चेपाङ मारिए

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ । चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय युवा मारिएको विषयमा चेपाङ समुदाय आन्दोलित छ । दोषीलाई कारबाही गर्नुको सट्टा सरकारले पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्तिको प्रस्ताव गरेको छ । तर, चेपाङहरू भने परिवारले न्याय नपाएसम्म शव नउठाउने अडानमा छन् ।

अनाहकमा युवा मारिएको विषयमा विरोध गर्न चेपाङ समुदायका अगुवाहरू बिहीबार र शुक्रबार लगातार भरतपुरस्थित सिडिओ कार्यालय आएका थिए । शुक्रबार दिनभर पनि सिडिओसँग वार्ता भयो, असफल वार्ताको विवरण समेटेर मैले काठमाडौं डेस्कमा समाचार पनि फाइल गरिसकेको थिएँ । तर, मृतकका बाबुआमा र श्रीमती जो भरतपुर आउन सकेनन्, सिडिओको अगाडि बोल्न पाएनन्, उनीहरूको आवाज सरकारसम्म कसरी पु¥याउने ? डेस्कको प्रश्न थियो । निर्देशन आएपछि साँझ नै म मोटरसाइकल चढेर चेपाङबस्तीतिर गएँ ।

म चेपाङबस्ती पुग्दा राति ९ बजिसकेको थियो । राजकुमारको घर पुगेँ । रको नाममा वास मात्रै थियो, टिनको छाप्रो । रातिमा को आयो फेरि ? सरकारको मान्छे होला भनेर सुरुमा उनीहरू बोल्न डराए । तर, मैले आफ्नो परिचय दिएर विश्वासमा लिएँ । त्यसपछि उनीहरू बोल्न थाले । बोल्नु के थियो, रुन थाले । यो कुनै दुर्घटना होइन, अत्याचार हो, अत्याचारका विरुद्ध आँसु होइन, आवाज चाहिन्छ, हामी सबै बोल्नुपर्छ भनेपछि आमा आइतीमायाले कथा सुरु गरिन् ।

  • निकुञ्जका सैनिकको कुटाइले मारिएका २४ वर्षीय राजकुमार प्रजाकी आमा मुख छोपेर रुँदै

राजकुमार परिवारका जेठा छोरा थिए । कान्छा छोरा त उनीहरूले गत वर्ष नै गुमाएका थिए । क्यान्सर भएको थियो उनलाई । बचाउन अनेक कोसिस गरे । ऋण लाग्यो । ‘१२ वर्षको छोरा पनि गयो, घर पनि गयो,’ आमाले भनिन्, ‘ऐलानी जग्गामा घर थियो, चार लाखमा बेच्यौँ । त्यही घरमा भाडामा बस्दै आएका थियौँ, महिनाको दुई हजार भाडा हो । तर, लकडाउनले काम नपाएपछि ६ महिनाको भाडा तिर्न सकेनौँ ।’ त्यसैले उनीहरू अहिले खुला टहरोमा बस्दै आएका छन् । मृतककी श्रीमती रिपुमायाको काखमा डेढ वर्षकी छोरी छन् । उनी टोलाएर बसेकी थिइन् । खासमा सुस्त मनस्थितिकी रहिछिन् ।

  • राजकुमारकी श्रीमती र डेढ वर्षीया छोरी

‘ऋणले वास बिक्री भयो, लकडाउनले गाँस पनि हरायो,’ बाबु विष्णुलालले भने, ‘भोका जहान परिवारको पेट पाल्न घुँगी खोज्न गएको थियो, तर निकुञ्जमा दख्खल गरेको भनेर सेनाले पिटेर मा¥यो, परिवार भोकै परेको देख्न सकेन, छोराको अपराध त्यही भयो ।’ २४ वर्षीय छोरा गुमाएका विष्णुलाल भर्खर ४२ वर्षका भए ।

‘घटना १ साउनको हो । राजकुमार र साथीहरू घुँगी टिप्न गएका थिए । घुँगी टिपिरहेको वेला दिउँसो १ बजे सेनाले भेटेछ । भेट्ने वेलामा सबैलाई सुतायो रे । पाँचैजनालाई सुताएर हरियो लट्ठीले हिर्कायो । त्यसपछि बुटले पनि हिर्कायो । उचाल्ने–पछार्ने प्राक्टिस गरेछन् । त्यस्तो गरेपछि जीवन बच्दैन नि,’ बाबुले भने, ‘त्यहाँ के भयो भन्ने त हामीले भन्दा पिटाइ खाएर घाइते भएकाले भन्छन् नि ।’

हो, राजकुमारसँगै गएका सन्तोष चेपाङ (सन्तलाल प्रजा) पनि घाइते छन् । घटनाका भुक्तभोगी उनले भने, ‘हामी सातजना गएका थियौँ । दिलमाया चेपाङ, माया राई, पुन चेपाङ, कान्छा चेपाङ, नीरज मगर, राजकुमार चेपाङ र म गएका थियौँ ।’

पछाडिबाट एक्कासि आएका सैनिकले सुरुमै अपशब्द बोलेको उनले बताए । ‘हामीसँग लोग्नेमान्छे मात्र होइन, महिला दिदीबहिनी पनि थिए, तर सेनाले बोल्नै नसक्ने शब्दहरू बोल्न थाल्यो ।’

सैनिक पानीमै पसेर आफूहरूलाई लट्ठी र लात्तले पालैपालो हानेको उनले बताए । ‘पहिले पानीभित्र कुट्यो, घुँगी पानीमा पोखिदियो । फेरि घिसार्दै पाखामा ल्यायो । पाखामा कहिले उत्तानो पारेर, कहिले् घोप्टो पारेर कुटे,’ उनले भने, ‘तिनीहरू जाँड खाएर फिट्टु भएका थिए । मातेर आफँै हिँड्न नसक्ने भएका रहेछन् । तर, हामीलाई भने मुढा बोकाएर हिँडाए । हिँडे पनि बसे पनि कुटिरहे ।’

उनीहरूलाई सेनाले ब्यारेक पु¥यायो । ‘खोलामा र बाटोमा लट्ठी र बुटले कुट्दा ज्यान थिलथिलो भइसकेको थियो । कुट्दै ब्यारेकमा पु¥याए । त्यहाँ त ठूलो मान्छे होला, दया गर्ला, ज्यान बच्ला भन्ने आशा थियो । तर, भित्र पनि मुढा बोकाएर कुद्न लगाए,’ सन्तोषले भने ।

सेनाले पैसा मागेको थियो, तर आफूहरूसँग पैसा नभएकाले भोलि लिएर आउने सर्तमा छाडेको पनि सन्तोषले बताए । ‘एक–एक हजार मागेको थियो, हामीसँग त्यत्रो पैसा छैन, भोलि पाँच–पाँच सय लिएर आउँछौँ भनेपछि छाडिदिएको हो,’ उनले भने ।

५ बजे ब्यारेकबाट छुटेका उनीहरू ६ बजे गाउँ आइपुगेका थिए । सन्तोषले भने, ‘भाइ (राजकुमार) त पातलो मान्छे, कम उमेरको थियो । ऊ बाटोमा हिँड्न नसक्ने भयो । खोलामा पनि हामीले तारेर घर ल्याएका हौँ । रातिदेखि हामी सबै बिरामी भयौँ, तर ऊ सिकिस्त भयो ।’

बाबु विष्णुलालले भने, ‘घरमा बाबुआमालाई नभन्नू भनेको रहेछ । तर, दुखाइ लुकाउन सकेन,’ उनले भने, ‘साँझ त्यस्तै ६ बजेतिर घर आएको थियो, रातभरि सुत्न सकेन । ढाड र तिघ्रामा सुम्लैसुम्ला थियो । बुटले छातीमा र लाठीले पिठ्युँमा हानेका रहेछन्, रातभरि ज्वरो आयो ।’

पिटाइ खाने सबैजना बिरामी भए । त्यसैले अर्को दिन मेडिकलबाट नदुख्ने औषधि ल्याएर खाए । ‘तर, सन्चो होला भनेर आस गर्दा उनको स्वास्थ्य झन्झन् बिग्रियो, तर पछि रगत बान्ता गर्न थाल्यो,’ बाबुले भने ।

सिकिस्त भएपछि राजकुमारलाई ८ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । ‘अस्पताल ल्याउँदा बाटोमै बोल्न छोडिसकेको थियो । तर, सास छ कि भन्ने आशामा अस्पताल पुु¥यायौँ । तर, डाक्टरले हेर्नासाथ मरिसक्यो भनिदिए,’ सन्तोषले भने, ‘उसको ज्यान गयो, तर बाबुआमा, श्रीमती र डेढ वर्षको बच्चाको बिजोग भयो ।’

  • बाबु विष्णुलाल

छोराको ज्यान किन गयो ? बाबु विष्णुलाल हामीलाई सोध्छन्, ‘ड्यामका ड्याम हिर्कायो रे ! आखिर के अपराध गरेको रहेछ, गैँडा मार्ने डन छन्, घुँगी टिप्दा गरिबका छोराको ज्यान लिने ? बुटले छातीमा हानेर मार्ने ?’ यसको जवाफ मसँग पनि छैन । बरु तपाईंको प्रश्न यो देशको सरकार र समाजसम्म पु¥याउनेछु भनेर म उनीहरूबाट बिदा भएँ ।

राति ११ बजे मोटरसाइकल चढेर भरतपुर फर्कंदा मैले अघि राजकुमारका परिवारसँग गरेको संवादको रेकर्ड मोबाइलमा सुन्दै थिएँ । आमा भन्दै थिइन्, ‘मेरो छोरा मिहिनेती थियो, ब्लक बनाउने काम गथ्र्यो । त्यो दिन म अर्काको खेत गोड्न गएकी थिएँ । बिहान जाँदा सुतेकै थियो । बेलुका त सुत्नै नसक्ने भएर आएछ, तर त्यत्रो गोदाइ खाएर आएपछि उसले बोलेन, दुःख लुकाउन खोजेको थियो ।’

छोरा झन्पछि भन् गल्दै गएपछि लौ न गुहार मागौँ भनेर आफूले भनेको आमा सम्झिन्छिन्, ‘अनाहकमा कुटाइ खायो, ओछ्यानमै दिसापिसाब हुँदा पनि हामी बोल्न सकेनौँ । भो आमा हल्ला नगरौँ, हामीले रोएको कसले सुन्छ र भन्यो । हुन त कसैले हाम्रो सुन्ने भए यस्तो जंगलमा हेलाको जिन्दगी किन हुन्थ्यो र ? त्यही सोचेर हामी पनि पछि हट्यौँ, त्यही हाम्रो भूल भयो ।’

सत्ता, बन्दुक र बर्दीको उन्मादले एउटा निर्धो युवाको ज्यान गयो । त्यत्रो अत्याचार सहेर पनि चेपाङ समुदाय १० दिनसम्म मौन रह्यो । मौनताको यो मूल्य गणतन्त्र नेपालमा चर्को भएन र ?

प्रश्न बिहान तपाईंको हातमा हस्तान्तरण हुने विश्वासमा राति १ बजे यो स्टोरी फाइल गरेको छु ।

निष्पक्ष छानबिन गर : मानवअधिकार आयोग 

राष्ट्रिय मानवअधिकार आयोगले चितवनमा चेपाङ समुदायका परिवार र व्यक्तिमाथि भएका दुई फरक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै विस्थापित व्यक्तिहरूको उचित वासको व्यवस्था गर्न तथा मृतक राजकुमार चेपाङको परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको हो ।

‘यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासको हकलगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ,’ आयोगको विज्ञप्तिमा छ । आयोगको बागमती प्रदेश कार्यालयले घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाइएको

आन्तरिक छानबिन सुरु : नेपाली सेना 

चितवन राष्ट्रिय निकुञ्जमा भएको कुटपिट र एकजनाको मृत्युको विषयमा आन्तरिक छानबिन सुरु भएको नेपाली सेनाले जनाएको छ । सेनाले शुक्रबार घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारी निकायले गर्ने विस्तृत छानबिनमा पनि सहयोग गर्ने स्पष्ट पारेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएपछि सेनाले आफ्नो धारणा राखेको हो ।

‘घटनाको बारेमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्नेबारे जानकारी गराउँदछौँ । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्यसम्पादन गर्न प्रतिबद्ध रहेको छ,’ सेनाले भनेको छ ।

तर, यही देशमा सजिलै उम्किन्छन् वन्यजन्तु तस्करीका नाइके

२८ पुस ०६९ मा सातवटा बाघको छाला, सात बोरा हड्डी र एक सय ११ वटा बाघका दाँतसहित नुवाकोटको ककनीबाट दुई युवक पक्राउ परे । रसुवा हुँदै वन्यजन्तुका अंग चीन तस्करी गरिरहेका उनीहरू भरिया मात्र थिए । उनीहरूको गिरोहको नाइके लोडु डिमे भएको थाहा भएपछि प्रहरीले काठमाडौंको बौद्धस्थित उनको घरमा छापा हान्यो । त्यहाँबाट थप आखेटोपहार बरामद भयो । प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ ग¥यो । तर, डिमे पक्राउ परेनन् ।

केही समयपछि डिमे विदेशमा लुकेको पत्ता लाग्यो । पाँच वर्षको प्रयासपछि प्रहरीले ०७४ मा डिमेविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरायो । उनी भारतमा बस्दै आएको थाहा पाएपछि भारतीय प्रहरीसँगको सहकार्यमा २१ फागुन ०७४ मा प्रहरीले डिमेलाई पक्राउ गरेर नेपाल ल्यायो । तर, चार महिनामै उनी सर्वाेच्च अदालतको आदेशबाट सहजै जेलमुक्त भए ।

सुरुमा डिमेलाई जिल्ला वन कार्यालयले उपस्थित नै नभई एक लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । पछि पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो । २९ असार ०७५ मा सर्वाेच्चले एक वर्षको कैदबराबर नौ हजार रुपैयाँका दरले धरौटी लिएर छाड्ने आदेश ग¥यो । त्यसलगत्तै भारत भागेका डिमे अझै नेपाल फर्किएका छैनन् । उनको मुद्दाको फैसला पनि भएको छैन । वन्यजन्तु तस्करीबाटै कमाएको पैसाले उनले भारतमा व्यापार विस्तार गरिरहेका छन् ।

पैसाको बलमा कानुनको पन्जाबाट सहजै उम्कने डिमे एक्ला अपराधी होइनन् । नेपालमा वन्यजन्तुको तस्करीमा संलग्न गिरोहका नाइकेहरू यसैगरी सजिलै छुट्ने गरेका छन् । कुन्जोक लामा तिनैमध्येका एक हुन् । १५ वर्षदेखि कानुनी रूपमा फरार रहेका उनी नेता र उच्च प्रहरी अधिकारीकै संरक्षणमा थिए । गत १० असारमा बौद्धबाट पक्राउ परेका लामा हाल पुर्पक्षका लागि थुनामा छन् । तर, मुद्दा चलाइएको कुन्जोक लामा आफू नभएको भनेर उनी छुट्ने प्रयासमा छन् । लामा भारतबाट बाघका छाला तथा हड्डी तिब्बती तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका नाइके भएको प्रहरी अधिकारीहरू बताउँछन् । फरार रहेकै अवस्थामा उनले करिब दुई अर्बको बैंकिङ कारोबारसमेत गरेका छन् ।

पाँच वर्षअघि बर्दियामा पक्राउ परेका बाघ तस्करी गिरोहका नाइके जसु बाबरिया पनि गत २३ वैशाखमा रिहा भएका छन् । पाटे बाघको चोरी सिकारी गर्ने समूहका नाइके उनी पाँच वर्षमै छुटेका हुन् । उनी २२ वैशाख ०७२ मा पक्राउ परेका थिए । बाँके र बर्दियाका जंगलमा पनि उनले बाघ मारेका थिए । यस्तो अपराधमा पाँचदेखि १५ वर्षसम्म कैद सजाय हुनेमा अदालतले न्यूनतम सजाय मात्र सुनायो । बाबरिया भारतमा पनि मोस्ट वान्टेड छन् । उनी छुटेपछि फेरि बाघको चोरी सिकारीमा लाग्ने प्रहरीको चिन्ता छ ।

२८ माघ ०६८ मा कैलालीमा बाघको चोरी सिकारी र तस्करी गर्ने श्रवण बाबरियाको समूह पक्राउ परेको थियो । ४० वटा बाघको हड्डी तथा दुईवटा छालासहित पक्राउ परेका उनीहरूमध्ये पाँचजना एक–एक लाख धरौटीमा छुटे । लगत्तै भारत भागेको उनीहरू अहिलेसम्म फेला परेका छैनन् । पछि पुनरावेदन अदालतले उनीहरूलाई पाँच–पाँच वर्ष कैद सजायको फैसला गरेको थियो ।

पैसाकै बलमा सजिलै उम्किएका अर्का वन्जयन्तु तस्कर हुन् पेम्बा शेर्पा । २५ असार ०६१ मा उनी चितवनको आँपटारीमा गैँडाको पाँचवटा खागसहित पक्राउ परेका थिए । गम्भीर मुद्दाका अभियुक्त उनी त्यतिखेर सहजै एक लाख धरौटीमा छुटे । पछि तत्कालीन पुनरावेदन अदालत हेटौँडाले उनलाई १५ वर्ष कैद सजाय सुनायो । त्यतिवेलासम्म उनी अमेरिका भागिसकेका थिए । अहिले पनि अमेरिकामै रहेका पेम्बाविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरिसकेको छ । तर, नेपाल ल्याउन सकेको छैन ।

वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ठूला तस्करलाई सजाय दिलाउनै गाह्रो हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारी बताउँछन् । सकेसम्म पक्राउ नै नपर्ने र पक्राउ परे पनि अदालतबाट प्रायः भरियालाई मात्र सजाय हुने, तर नाइकेहरू उम्कने गरेको उनले बताए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...