Wednesday, October 23, 2024

५ हजार ९ सय ७० पदका लागि ५ लाख ६७ हजार ८ सय ५३ जनाले आवेदन

Share

असोज २७, काठमाडौँ – युवाहरूबीच सरकारी सेवा प्रवेशका लागि अत्याधिक आकर्षण देखिएको छ । लोकसेवा आयोगले आवेदन मागेका पद संख्या भन्दा ९५ गुणा धेरै दरखास्त परेका छन् । आयोगले गत वर्ष ५ हजार ९ सय ७० पदका लागि दरखास्त आह्वान गरेको थियो । त्यति पदका लागि ५ लाख ६७ हजार ८ सय ५३ जनाले आवेदन दिए ।

‘मागिएको पद संख्या भन्दा ९५ गुणा बढी युवाले दरखास्त दिए । यसले सरकारी सेवाप्रति आकर्षण चुलिएको अनुभूति गरेका छौं’, आयोगका प्रवक्ता किरणराज शर्माले भने । जानकारहरू निजामती सेवामा आकर्षण बढ्नुको कारण उच्च तहमा पुगेका अधिकांश कर्मचारीको आर्थिक स्थिति राम्रो र जीवनशैली विलासितापूर्ण रहनु बताउँछन् । उनीहरू मध्ये कतिपयले शक्ति केन्द्रसँग सीधा पहुँच समेत राख्छन् । ‘सरकारी जागिरमा सुरक्षा छ, सेवानिवृत्त भए पनि पेन्सन आउँछ भने सामाजिक प्रतिष्ठा पनि राम्रै छ’, आयोग प्रवक्ता शर्माले भने । उनले सरकारी जागिरमा वृत्ति विकासको अवसर र सामाजिक प्रतिष्ठाका कारण आकर्षण बढ्दै गएको बताए ।

आयोगका अनुसार १० वर्षयता आवेदकको संख्या ६ गुणा वृद्धि भएको छ । २०६५÷६६ मा विभिन्न पदमा ८६ हजार १ सय ६८ दरखास्त परेका थिए । आयोगले ५ हजार ९ सय ७० पदमा दरखास्त मागेको थियो ।

आयोगका अनुसार सबैभन्दा बढी दरखास्त खरिदार पदमा १ लाख ४६ हजार ४ सय ७६ परेका छन् । सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लाहरूमा क्रमशः सप्तरी, धनुषा, सिराहा, सर्लाही, महोत्तरी र रौतहट छन् । थोरै दरखास्त पर्ने जिल्लामा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु छन् । आवेदक मध्ये सर्वाधिक ३८ प्रतिशत २१ देखि २५ वर्ष उमेर समूहका छन् । आवेदकहरूको औसत उमेर भने २६ वर्ष छ । आयोगका अनुसार १ सय ९३ पदमा कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।
अन्नपूर्णबाट

Read more

Local News