Wednesday, October 23, 2024

सिक्टा आयोजनाभित्र कमजोरी रहेको संसदीय समितिको ठहर

Share

असोज २७, बाँके – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा आएको संसदीय टोलीले आयोजनाभित्र कमजोरी रहेको ठहर गरेको छ । ‘संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका पदाधिकारीले दुई दिन लगाएर सिक्टाको पश्चिम र पूर्वी मूल नहरको स्थलगत निरीक्षण गरेका थिए । उक्त टोलीले निरीक्षण पश्चात आयोजनाभित्र कमजोरी रहेको ठहर गर्दै लिखित प्रतिवेदन मार्फत सबै कुरा सार्वजनिक गर्ने जनाएको छ ।

आयोजनाको पश्चिम मूल नहर परीक्षणका क्रममा गत साउन ७ गते ढकेरीस्थित चंगाई नालानजिक भत्केको थियो । त्यसअघि २०७३ असार १४ गते पनि ढकेरीस्थित झिझरी खोला छेउमा परीक्षणकै क्रममा मूल नहर भत्किएको थियो । पटक–पटक सिक्टाको मूल नहर भत्किएपछि स्थानीय बासिन्दाले संसदीय समिति मार्फत छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए । समितिका पदाधिकारीले दुई दिनसम्म स्थलगत निरीक्षण गरिसकेपछि सिक्टाभित्रको कमजोरी प्रारम्भिक रुपमा औंल्याएका हुन् ।

समितिका सभापति पूर्णा सुवेदीले आयोजनाभित्र कमजोरी रहेको कुरा अनुगमनका क्रममा प्रस्ट देखिएको बताइन् । पश्चिम मूल नहरमा कमजोरी कसबाट भएको छ, त्यसको सबै कुरा प्रतिवेदनमा समेट्ने उनले सुनाइन् । ‘हामीले दुई दिन लगाएर सिक्टाको पश्चिम र पूर्वी मूल नहर निरीक्षण गर्यौं, फिल्डमै पुगेर निरीक्षण गर्दा केही कमी–कमजोरी देखिएका छन्,’ उनले भनिन्, ‘हामीले प्रतिवेदनमा आफ्नै आँखाले देखेका र जनताले बोलेका कुरालाई समेट्छौं, समितिको बैठक बसेर प्रतिवेदन बुझाउँछौं, मन्त्रालयलाई निर्देशन दिएपछि कारबाही गर्ने निकायले कारबाही गर्लान् ।’ सिक्टाभित्रको अनियमिततालाई सिँचाइ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा–छुट्टै रुपमा छानबिन गरिरहेका छन् ।
नागरिकबाट

Read more

Local News