Friday, January 10, 2025

काष्ठमण्डप पुनर्निर्माणका लागि दियो काठमाडौं महानगरपालिकाले पाँच करोड रुपैयाँको चेक

Share

असोज २८, काठमाडौँ – काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । यसअघि महानगरले समितिलाई ‘सीड मनी’ का रूपमा ५० लाख रुपैयाँ दिएको थियो ।

चालु आर्थिक वर्षमा काष्ठमण्डप पुनर्निर्माणका लागि ८ करोड रकम विनियोजन गरिएको छ । महानगरले १८ करोडको अनुमानित लागतमा काष्ठमण्डप पुनर्निर्माण प्रक्रिया सुरु गरेको छ ।

रकम हस्तान्तरण गर्दै मेयर शाक्यले महानगरले आफ्नै खर्चमा काष्ठमण्डप पुनर्निर्माण गर्ने बताए । उनले असार मसान्तभित्र पहिलो तला निर्माण भइसक्ने जनाए । पुरानै शैलीमा काष्ठमण्डपको निर्माण काम थालिएको समितिका अध्यक्ष राजेशकाजी शाक्यले बताए । स्थानीयकै अग्रसरतामा मंसिरबाट निर्माण सुरु हुनेछ । ‘काठ र इँटाको व्यवस्था भइसकेको छ । चाडवाड सकिएपछि निर्माण सुरु हुन्छ’, उनले भने ।
अन्नपूर्णबाट

Read more

Local News