Wednesday, October 23, 2024

दसैं मान्न साढे २१ लाख काठमाडौंबाट घर फर्किए

Share

विजयादशमी आउन चार दिन बाँकी रहँदा लाखौं यात्रु कर्म थलो काठमाडौं उपत्यका छाडेर गाउँ फर्किएका छन् । सोमबार बिहानसम्म २१ लाख ५४ हजार यात्रु राजधानीबाट बाहिरिसकेका छन् ।

विदेशबाट दसैंका लागि भनेर गाउँ फर्कने तथा उपत्यकाबाट घर फर्कने नेपालीको संख्या बढेको छ । आइतबारमात्रै एक लाख ८० हजार यात्रु गाउँ फर्किएका छन् ।

अग्रिम टिकट लिने यात्रु भने एक लाख ६२ हजारमात्र रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । ‘धेरै यात्रुले अग्रिम टिकट लिएका छैनन्, अहिले पनि टिकट काट्नेहरुको काउन्टरमा घुइँचो छ,’ उनले भने, ‘अग्रिम टिकट लिनेभन्दा घर जाने समयमा टिकट लिने बढी छन् ।’

उपत्यकाका विभिन्न नाकाबाट सोमबार (आज) र मंगलबार (फूलपाती)का दिन धेरै यात्रु बाहिरिने प्रहरीको अनुमान छ । आइतबार एक लाख ८० हजार बाहिरिएकाले सोमबार र मंगलबार दैनिक २ लाख ५० बजारका दरले यात्रु गाउँ जाने ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै धेरै यात्रु बाहिरिन्छ । विभिन्न पेसा व्यवसाय गर्नेहरु फूलपाती र अघिल्लो दिन धेरै बाहिरिने विगतको अनुभव रहेको महाशाखाले जनाएको छ । विद्यार्थी भने केही दिनअघि देखि बाहिरिन थालेका छन् ।

उपत्यकाका कलंकी, स्वयम्भु, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन । त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टाअघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाएका छन् ।

Read more

Local News