Sunday, October 27, 2024

दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल शुरु

Share

कात्तिक ५, काठमाडौँ  – दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपाती देखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चार्ड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिनुभयो । आइतबार रातिसम्म सो सङ्ख्या अझै बढेको छ ।

यसैगरी सात हजार ३४८ सवारीबाट ६० हजार ३६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमी अघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । आइतबार देखि सरकारी कार्यालय समेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ । गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिन सम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको छ ।

मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । यही कात्तिक २ गते विजयादशमीका दिन देखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन सम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसदिन अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइन्छ ।

यसैबीच चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले तोके भन्दा दोब्बरसम्म भाडा लिएर पनि यात्रुलाई ठगेको पाइएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

दशैँमा उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासो आएपछि विभागले चार वटा समूह परिचालन गरेर नाकामा अनुगमन गरेको थियो । कारवाहीमा परेका सवारीलाई एक हजार देखि पाँच हजार सम्म जरिवाना गरिएको विभागले जनाएको छ ।
रासस

Read more

Local News