Friday, January 10, 2025

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग ५० प्रतिशतले बृदी

Share

कात्तिक ७, काठमाडौँ – चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग ५० प्रतिशत बढाएको छ । उसले दुई अर्ब ५३ करोड रूपैयाँ बराबरको सैन्य सहायता गर्ने भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रमणका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रक्षा मन्त्रालयका अधिकारीले बताए ।

बेइजिङ जियान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल मंगलबार चीन प्रस्थान गरेका छन् । उनी एक उपरथी र एक उपसचिवसहित चीन गएका छन् । चिनियाँ समकक्षी वाइ फेङ्गेको निमन्त्रणामा उनको चीन भ्रमण तय भएको हो । एक सय भन्दा बढी मुलुकका सैन्य प्रतिनिधि सहभागी रहने उक्त फोरममा चीनले प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थिति चाहेको थियो । थापा प्रधानसेनापति भएपछि भ्रमणमा भन्दा आन्तरिक व्यवस्थापन र सुधारमा लागेकोले व्यस्तता देखाएर उपरथीलाई प्रतिनिधि पठाएका छन् ।

‘चीनले नियमित उपलब्ध गराउँदै आएको एक सय मिलियन आरएमबीलाई यसपटक बढाएर एक सय ५० मिलियन आरएमबी पुर्‍याएको हो,’ रक्षा सचिव विष्णु लम्सालले भने, ‘चीनले उपलब्ध गराउने उक्त सहयोग विपद् व्यवस्थापन र सैन्य क्षमता वृद्धिका लागि आवश्यक सामाग्री हुन् । सिधा रकम उपलब्ध भने होइन ।’

बख्तरबन्द गाडी, सैन्य सामाग्री, ट्रक, क्रेन लगायत रहने रक्षा अधिकारीले जानकारी दिए । रक्षामन्त्रीको भ्रमणको क्रममा नेपाली सेना र चिनियाँ सेनाबीच हुँदै आएको दुईपक्षीय संयुक्त अभ्यास, सम्बन्धको निकटता, उच्चस्तरीय शिक्षा, प्रशिक्षण, नेपाली सेनाको शिक्षालयमा चिनियाँ सेनाको अध्ययनलगायत विषयमा छलफल हुने बताइएको छ ।
अन्नपूर्णबाट

Read more

Local News