कात्तिक ७, काठमाडौँ – छिल्ला खेलमा लगातारजस्तो पराजित भएको युरोपियन च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्यो । तर उत्कृष्ट प्रदर्शन भने गर्न सकेन ।
घरेलु मैदानमा भएको खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिडले भिक्टोरिया प्लेजनमाथि समूह जी अन्तर्गतको खेलमा २–१ को जित निकालेको हो ।
रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्सेलोले गोल गरे । भिक्टोरियाका लागि हरोसोभ्स्कीले एक गोल फर्काए ।
११ औँ मिनेटमा बेन्जिमाले गरेको गोलबाट रियल मड्रिडले पहिलो हाफमा १–० को अग्रता लियो । ५५ औँ मिनेटमा मार्सेलोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । भिक्टोरियाका लागि ७८ औँ मिनेटमा हरोसोभ्स्कीले एक गोल फर्काएका हुन् ।
जित निकाले पनि रियलले आफ्नो पुरानो लय समात्न सकेको देखिएको छैन । यहि सिजन क्लबको जिम्मेवारी सम्हाल्न आएका लोपेतेगीको भविष्य संकटमा रहेको अझै पनि बताउने गरिएको छ ।
समूहको तेस्रो खेलमा दोस्रो जितसहित ६ अंक जोडेको रियल समूहको शीर्ष स्थानमा छ । राति नै भएको अर्को खेलमा सिएसकेए मस्कोलाई ३–० ले हराएको रोमा ६ अंकसहित दोस्रो स्थानमा छ ।