Tuesday, September 10, 2024

स्पेनिस क्लब एथ्लेटिको मड्रिड, तेस्रो खेलमा खराब हार बेहोर्न बाध्य

Share

कात्तिक ८, काठमाडौँ –  च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणका अघिल्ला दुई खेलमा जित निकालेको स्पेनिस क्लब एथ्लेटिको मड्रिड बुधबार राति भएको तेस्रो खेलमा भने खराब हार बेहोर्न बाध्य भएको छ ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग ४–० ले पराजित भयो । डर्टमुण्डको जितमा राफायल गेहेइरोले दुई तथा एक्सल विट्सल र जेडन सान्चोले एक एक गोल गरे ।

पहिलो हाफमा एक गोल खाएको एथ्लेटिकोले दोस्रो हाफमा तीन गोल खायो । ३८ औँ मिनेटमा विट्सलले गोल गर्दै डर्टमुण्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

गेहेइरोले ७३ औँ तथा सान्चोले ८३ औँ मिनेटमा गोल गरे । यस्तै गेहेइरोले ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको ४–० ले पराजित भयो ।

समूह ए अन्तर्गत राति नै भएको खेलमा मोनाको र क्लब ब्रगले १–१ को बराबरी खेले । ९ अंकसहित डर्टमुण्ड समूहको शीर्ष स्थानमा छ भने ६ अंकरहेको एथ्लेटिको दोस्रो स्थानमा कायम छ।

यस्तै समुह डी अन्तर्गतको खेलमा एफसी पोर्टोले लोकोमोटिभ मस्कोलाई ३–१ ले हरायो भने शाल्के र गालाटासारेले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।

Read more

Local News