Wednesday, October 23, 2024

‘मर्निङ वाक’मा निस्किएका शिक्षक,बम बेपत्ता

Share

कात्तिक१०, सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका–११ बर्माघाटस्थित जनसेवा प्राथमिक विद्यालयमा कार्यरत शिक्षक बेपत्ता भएका छन्।

विद्यालय दसैँ बिदा भएपछि वीरेन्द्रनगर–४ भैरवस्थान घर आएका शिक्षक दिपकबहादुर बम कात्तिक–६ गते मंगलबारदेखि बेपत्ता भएका हुन्।

विहान ‘मर्निङ वाक’मा निस्किएका बम हालसम्म पनि सम्पर्कमा नआएको उनकी पत्नी सूर्यकुमारी शाही बमले बताइन्।

भेरी पुलमा सेल्फी खिच्न झरेका यात्रुहरुले शिक्षक बमको मतदाता परिचयपत्र, पासपोर्ट साइजको फोटा र चप्पल भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय छिञ्चुले उक्त प्रमाणहरु भेटिएको सूचना फेसबुकमार्फत सार्वजनिक गरेको थियो। परिवारले फेसबुक परिचय खुल्ने सामग्री भेटिएको सूचना पाएलगतै खोजी थालेको थियो।

‘फेसबुकमा काजगपत्र भेटिएको देखेपछि फोन गरियो, फोन उठेन’ सूर्यकुमारीले भनिन्, ‘घर वरिपरि कतै हुनुहुन्छ कि भनेर खोजी गरियो, सम्पर्कमा नआएपछि प्रहरीमा खोजी गरि पाऊँ भनेर जाहेरी दर्ता गराएका छौँ।’

उनले खोजीका लागि सहयोग गरिदिन अनुरोध गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बेपत्ता शिक्षकको खोजी कार्य तीव्र पारिएको जनाएको छ। नदीको किनारामा मतदाता परिचयपत्र, पासपोर्ट साइजको फोटो भेटिएकाले हाम फालेको आशंकामा भेरीमा खोजी गरिएको जिल्ला प्रहरी प्रमुख बसन्त रजौरेले बताए।

बेपत्ता कारण बारेमा प्रहरीले अनुसन्धान थालेको रजौरेले जानकारी दिए। ‘खोज, अनुसन्धान र सोधपुछ जारी राखेका छौँ,’ रजौरेले भने, ‘घटनाबारे केही भन्न सक्ने अवस्था छैन, प्रहरीले खोजी तीव्र पारेको छ।’

बेपत्ता दिपक जनसेवा प्राविमा नेपाली विषयका शिक्षक हुन्। उनका दुई छोरी र एक छोरा छन्। वि.सं. २०४२ सालदेखि शिक्षण पेशामा संलग्न उनले ‘मन्धिर’ कविता संग्रह समेत प्रकाशन गरेका छन्।

Read more

Local News