कात्तिक ११, पोखरा – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को तेस्रो दिनको खेलमा पनि सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले दोस्रो जीत हात पारेको छ।
बुटवलले आइतबार दिउँसो भएको खेलमा घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको गरेको हो। जीतसँगै बुटवल पिपिएलमा चार अंकका साथ शीर्ष स्थानमा पुगेको छ।
बुटवलले दिएको १५० रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रनमै रोकियो। पोखराका आसिफ शेखले २० तथा कप्तान शरद भेष्वाकरले १९ बाहेक अन्यले माथिल्लो स्कोर बटुल्न सकेनन्। बुटवलका सोमपाल कामी, विपिन खत्री, ललितसिंह भण्डारी र रोहन मुस्तफाले २–२ विकेट लिए। यस्तै, सागर पुनले एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। भीम सार्कीले अर्धशतक पार गर्दै खेल्ने क्रममा ४६ बलमा ५४ रन जोडे। उनले तीन छक्का र दुई चौका प्रहार गरे। यस्तै, बुटवलका लागि विदेशी खेलाडी युएईका कप्तान रोहन मुस्तफाले ४५ रन जोडे।
३५ बल खेलेका रोहनले तीन चौका र दुई छक्का प्रहार गरे। कप्तान सोमपालले ८ बलमा २२ रन जोड्न सफल भए। उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए।
पोखराका मोहम्मद नाभिदले तीन तथा महबुब आलम, ललितनारायण राजवंशी र शरद भेष्वाकरले एक÷एक विकेट लिएका थिए। प्रतियोगिताको चौथो दिनको खेलमा सोमबार विहान विराटनगर टाइटन्सविरुद्ध हुलास काठमाडौं रोयल्स र दिउँसो चितवन रोयल्सविरुद्ध पोखरा पल्टन मैदान उत्रनेछन्। उक्त खेलमा विराटनगरलाई जीत्नै पर्ने दबाब छ। उक्त खेल नजिते सन्दिप लामिछानेको विराटनगर प्रतियोगिताबाट बाहिरनेछ।