कात्तिक १२, पोखरा – चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।
सोमबार भएको खेलमा शरद भेषावकरको पोखरा पल्टनले चितवनलाई ५ विकेटले हराएको हो । यससँगै पारस खड्काको टिमको उपाधि होडमा धक्का लागेको छ ।
पोखरा मैदानमा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।
उसको सुरुवात निकै खराब थियो । खाता खोल्न नपाउँदै लगातार दुई विकेट गुमाएको उसको पारी रवि इन्दर सिंह र रोहितकुमार पौडेलले सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । रोहित १९ रनमा आउट भए ।
त्यसपछि ब्याटिङमा आएका कप्तान शरदले रवि इन्दरलाई साथ दिँदै टिमलाई जित नजिक पुर्याए । १७ औं ओभरमा दुबै आउट भए तर, चितवनका लागि विकेट लिन ढिलो भइसकेको थियो । शरद ३७ रनमा आउट भए भने रविइन्दरले ४८ बलमा ८ चौका र तीन छक्काको मदतमा ६५ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर मात्र १४० रन बनाएको थियो । उसका लागि सनी पटेलले ४६ र कप्तान पारसले ४४ रन बनाए ।