Wednesday, October 23, 2024

अख्तियारको स्टिङ अपरेसनमा, १ वर्ष भित्र प्रहरी जवानदेखि डिएसपीसम्म १६ जना पक्राउ

Share

कात्तिक १३, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समयअघि मात्रै महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राइलाई १ लाख ३० हजार घुससहित रंगेहात उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो।

उनले घुस खाने गरेको भन्दै गएको असार २८ गते नै अख्तियारमा उजुरी परेको थियो। लामो प्रयासपछि अख्तियारले उनलाई घुससहित रंगेहात पक्राउ गर्न सफल भएको थियो। डिएसपी राई पक्राउ परेभन्दा केही समय पहिला अख्तियारकै टोलीले कोटेश्वर र काँडाघारीको प्रहरी कार्यालयका जवानदेखिदेखि असईसम्म ८ जनालाई घुससहित पक्राउ गरेको थियो।

केही दिनअघि मात्रै अख्तियारकै टोलीले सशस्त्र प्रहरी बल धनुषाका सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएका थिए।

यो चालु आर्थिक वर्षमा घुससहित रंगेहात पक्राउ परेका प्रहरीको विवरण हो। चालु आर्थिकको वर्ष तीन महिनामै एक दर्जनभन्दा बढी प्रहरी अधिकारी घुससहित रंगेहात पक्राउ परिसकेका छन्।

यसरी पछिल्लो समय प्रहरी अधिकारीहरुले घुस खाने क्रम बढेको देखिएपछि आयोगले विशेष अपरेसन नै सञ्चालन गरेर कारबाही थालेको छ। आयोगले घुस खानेविरुद्धको कारबाही (स्टिङ अपरेसन) का लागि डिएसपीको कमान्डमा एउटा टोली नै गठन गरेर काम गरिरहेको छ।

उक्त टोलीले गत आर्थिक वर्षको अवधिमा प्रहरी जवानदेखि डिएसपीसम्म १६ जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

कोको परे घुससहित रंगेहात पक्राउ?

– डिएसपी नवीनकुमार भण्डारी (प्रहरी वृत बालाजु), घुस रकम ५ लाख

– इन्सपेक्टर हरिहर सुनुवार (प्रहरी प्रभाग नयाँ बसपार्क), घुस रकम ५० हजार

– इन्सपेक्टर काले बम्जन लामा (सशस्त्र कार्यालय कप्तानगञ्ज, सुनसरी), घुस रकम २५ हजार

– सई वीरेन्द्रबहादुर ऐडी (प्रहरी वृत दरबारमार्ग), घुस रकम २४ हजार

– सई कुमार श्रेष्ठ (प्रहरी प्रभाग भक्तपुर), घुस रकम १८ हजार

– असई चन्द्रसिंह भाट (प्रहरी वृत बालाजु), घुस रकम ५ लाख

– असई रमेशबहादुर खड्का (आयुक्त कार्यालय रानिपोखरी), घुस रकम ३ लाख

– हवल्दार मनोज यादव (प्रहरी वृत बालाजु), ५ लाख

– हवल्दार कुलबहादुर बिसी (प्रहरी चौकी पाखापानी, म्याग्दी), घुस रकम १ लाख ६० हजार

– जवान पुष्कर शाह –प्रहरी वृत बालाजु), ५ लाख घुसमा संलग्नता

–सशस्त्र जवान शम्भुप्रसाद आचार्य (औधोगिक सुरक्षा बल नेपालगञ्ज), घुस रकम ७ हजार

– जवान उमेशकुमार थापा (प्रहरी प्रभाग भक्तपुर), घुस रकम १८ हजार

– जवान मनोज प्रसौला (अस्थायी प्रहरी पोष्ट लक्ष्मनिया जनकपुर), घुस रकम १० हजार

– जवान मोतिकुमार श्रेष्ठ (जिल्ला ट्राफिक कार्यालय लमजुङ), घुस रकम ७० हजार

– सशस्त्र जवान ठाकुर खत्री (सशस्त्र प्रहरी बल कप्तानगञ्ज सुनसरी), घुस २५ हजार

– सशस्त्र जवान नवीन खड्का (सशस्त्र प्रहरी बल कप्तानगञ्ज सुनसरी), घुस २५ हजार

प्रहरीबाहेक अख्तियारले गत आर्थिक वर्षमा कार्यालय सहयोगीदेखि सहसचिवसम्म १ सय १६ जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ। सहसचिव जस्तो प्रतिष्ठित पदका व्यक्तिसमेत १० हजार रुपैयाँ घुसमा बिक्ने गरेको पाइएको छ। स्वास्थ्य सेवा विभागका सहसचिव डा. रमेशकुमार सिंहलाई अख्तियारले १० हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ गरेको थियो।

त्यस्तै वैदेशिक रोजगार विभागका सहसचिव विश्वराज पाण्डेलाई अख्तियारले १० लाख घुससहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा उपसचिव तथा सोसरहका मात्रै ८ जना छन्।

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. रामदेव यादव ३७ हजार,  भूमि सुधार कार्यालय सप्तरीका उपसचिव प्रकाशप्रसाद पोखरेल १ लाख, यातायात व्यवस्था कार्यालय सुकेधाराका उपसचिव सुन्दर भट्टराई ३२ हजार,  जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इन्जिनियर केदार शर्मा १९ लाख ७० हजार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक पुरुषोतम सुवेदी १० हजार घुससहित पक्राउ परेका थिए।

त्यसैगरी शिक्षा विकास समन्वय इकाई कपिलवस्तुका उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार र सोही कार्यालयका उपसचिव सुरेन्द्र पराजुली २ लाख ८० हजार, बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारीलाई अख्तियारले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

यी बाहेक, अधिकृत, नायब सुब्बा, इन्जिनियर, नापी विभागका कर्मचारी, वनका कर्मचारी, लेखापाल, ओभरसियर, विभिन्न प्राविधक कर्मचारी र कार्यालय सहयोगी गरी १ सय १६ जनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

Read more

Local News