Sunday, October 27, 2024

कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह: राष्ट्रपति भण्डारी

Share

कात्तिक १४, कतार – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गर्नु भएको हो ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबीच श्रम सम्बन्ध मात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको साथै, कतार नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको जनाउनु भएको छ ।

यसबाट नेपाल र कतारबीच आवागमन सहज हुनुका साथै अन्य मुलुकबाट आउने पर्यटकहरूको आवागमनमा पनि सहजता आउने विश्वास व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धिको मार्गमा लागिसकेको कुरा व्यक्त गर्न पाउदा मलाई गौरवानुभूति भएको छ । तीव्र गतिमा विकासलाई अगाडि बढाउनका लागि हामीलाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ ।

तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस् । यहाँहरुले प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्न सक्नुहुन्छ” ।

उहाँले नेपालमा गरिने लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी समेत नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसैले ढुक्क भएर पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन कतारी लगानीकर्तालाई आग्रह गर्नु भएको छ ।
रासस

Read more

Local News