Sunday, October 13, 2024

संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी

Share

कात्तिक १४, काठमाडौँ – संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई सजिलो होस् भनेर यस्तो तयारी गर्न लागिएको हो ।

‘मन्त्रालयमै नै हेल्प डेस्क राखेपछि समिति र मन्त्रालयबीचको समन्वय राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो’, प्रवक्ता पाण्डेले भन्नुभयो– ‘यसबारे आन्तरिक तयारी भइरहेको छ, अब समितिका बैठक बस्न थालेपछि यसबारे थप छलफल गर्छौं ।’ पाण्डेले मन्त्रालयमै हेल्प डेस्क राखिसकेपछि समितिको निर्देशन कार्यान्वयनका लागि खबरदारी गर्न र आवश्यक परामर्श लिन सजिलो हुने दावी गर्नु भयो ।

समितिले दिएका निर्देशन मन्त्री, मन्त्रालय र सरोकारवाला निकायले बेवास्ता गरिरहेका बेला सचिवालयले यस्तो सोच बनाएको हो । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सचिव वंशीराज पौडेलले समितिले दिएका धेरै वटा निर्देशन अलमलमा परेको बताउनुभयो ।

‘समितिले निर्देशन दिइरहने र मन्त्रालयले काम नगर्ने हो भने त्यसको कुनै अर्थ रहँदैन’, प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाका सहसचिव समेत रहनु भएका पौडेलले भन्नुभयो– ‘हाम्रो समितिमा पनि मन्त्रीहरुले दिन्छौं भनेको जवाफ आइसकेको छैन, सांसदहरुले छिटो जवाफ चाहियो भनिरहनु भएको छ ।’

केही दिन अघि निर्देशन दिने क्रममा यो समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र समिति सभापति कल्याणीकुमारी खड्काबीच जुहारी नै चलेको थियो । आज बुधबार शिक्षा तथा स्वास्थ्य समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । बाध्यताले मन्त्री समितिमा उपस्थित भए पनि यहाँ उठेका विषयवस्तुलाई मन्त्रीले बेवास्ता गर्दै आएका छन् ।
नेपाल समाचारपत्रबाट

Read more

Local News