Sunday, October 27, 2024

राष्ट्रपति भण्डारी चार दिने औपचारिक भ्रमणपछि आज स्वदेश फर्कनु हुने

Share

कात्तिक १५, कतार – राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने कतार भ्रमण पूरा गरि आज स्वदेश फर्कनु हुने कार्यक्रम छ । उहाँ गत सोमबार कतार जानु भएको थियो ।

यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्माण गरिएको भव्य पुस्तकालयमा अरबी, अङ्ग्रेजी लगायत विभिन्न भाषाका १० लाख भन्दा बढी पुस्तकहरू रहेका छन् । विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थल सहितको आकर्षक सुविधा यस पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिनु भएको छ ।

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताउनु भएको छ । उहाँले ४ लाख भन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण समेत गराउनु भएको छ । उहाँले यस किसिमको बालपुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाउने बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै संक्षिप्त धारणा समेत लेख्नु भएको छ । उहाँले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गर्नु भएको छ । पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पुस्तकालय सभ्यता र अध्ययनशीलताको सूचक समेत रहेकाले यसको विकास र विस्तारमा सरकार जागरुक रहेको बताउनु भएको छ ।

यसै बीच पुस्तकालयको अवलोकन पश्चात् राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नु भएको छ । आधुनिक शैलीमा निर्माण गरिएको सङ्ग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका वस्तुहरू व्यवस्थित र फराकिलो गरी राखिएकोमा राष्ट्रपति भण्डारीले यस किसिमको व्यवस्थापन सबैका निम्ति अनुकरणीय हुने बताउनु भएको छ ।
रासस

Read more

Local News