Wednesday, October 23, 2024

राष्ट्रपति भण्डारीको चार दिने कतार भ्रमण पूरा गरि स्वदेश फिर्ता : भ्रमण उपलब्धिमूलक

Share

कात्तिक १६ ,काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारऔपचारिक भ्रमण पूरा गरी विहिबार स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गर्नुभयो ।

सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिव, सुरक्षा निकायका प्रमुख लगायत सरकारका उच्चपदस्थ पदाधिकारी विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच उच्चस्तरीय भेटवार्ता भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “भेटमा नेपाली प्रतिनिधिमण्डलद्वारा कतारलाई नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरियो ।”

कतारमा कार्यरत नेपाली कामदारको हकहित प्रवद्र्धन, सुरक्षा सम्बन्धी विषयमा विस्तृत कुराकानी भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा आफूले पनि कतारका श्रममन्त्रीसँग छुटै भेटवार्ता गरेको जानकारी दिनुभयो ।

भेटमा अशक्त कामदारको स्वदेश फिर्ती, उनीहरुलाई नेपालमै उपचारको व्यवस्था मिलाउन तथा नेपाली कामदारको सीप र दक्षता अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताउँदै उहाँले नेपालमा सीप विकास र तालीमको स्थापना, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, नेपालको विकासमा कतारबाट सहयोग प्राप्त गर्ने लगायत विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । उक्त विषयलाई कतारले सकारात्मक रुपमा लिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
रासस

Read more

Local News