कात्तिक १७,जाजरकोट – मोबाइल सेट बोकेर अग्ला रूख चढ्नु र डाँडातिर उक्लिनु चुनीचाँदेवासीका लागि सामान्य बनेको छ । सञ्चारका लागि यो भन्दा विकल्प छैन । टेलिकमको टावर गतिलो नहुँदा जिल्लाको चुनीचाँदे गाउँपालिकाका स्थानीय यस्तो नियति भोग्न बाध्य भएका हुन् ।
बर्दियामा ल्याब टेक्निसियन अध्ययनरत चुनीचाँदे–४ कोर्ताङकी मीना शाहीलाई घरमा फोन गर्न कठिन हुन्छ । घर आएका बेला पनि फोन लाग्दैन । सोही गाउँका बलबहादुर खड्काको समस्या पनि उस्तै छ । ‘फोन लागिहाल्यो भने कि अग्लो स्थानतिर लाग्नुपर्छ कि त रूख चढ्नुपर्छ । नत्र फोनमा कुरै बुझिँदैन’, खड्काले भने ।
नमस्तेको सिमकार्डले राम्रो काम गर्दैन । स्काईको सिमकार्डमा कहिलेकाहीँ दिउँसो सम्पर्क हुन्छ । त्यसका लागि पनि कि अग्लो रूख चढ्नुपर्छ कि त डाँडातिर जानुपर्छ । होचो भागमा फोन सम्पर्क हुँदैन । मीना र बलबहादुर जस्तै गाउँका हरेक सर्वसाधारणले यस्तो नियति भोगिरहेका छन् । गाउँमा भएको स्काई फोनको टावर बिग्रेपछि सञ्चार सेवा प्रभावित भएको हो ।
चुनीचाँदे–२ मजकोटमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चारमा समस्या भएको स्थानीय कर्ण कार्कीले बताए । विद्युत् अभाव र टेलिकमका कर्मचारीको लापरवाहीले सेवा प्रभावित भएको स्थानीयको आरोप छ । टेलिकमले चुनीचाँदे–५ गर्खाकोट र अन्य स्थानमा नमस्ते मोबाइलको टावर राख्न सर्वे गरेको तीन वर्ष बिते पनि काम सुरु हुन नसकेको वडा नम्बर ५ की मालिका बस्नेतले बताइन् ।
नेपाल टेलिकम जाजरकोटका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले विद्युत् अभावमा चुनीचाँदेको फोन सेवा प्रभावित भएको बताए । टावर सञ्चालन गर्न सोलार ब्याट्री फेर्न टेलिकमको क्षेत्रीय कार्यालय नेपालगन्जमा बारम्बार पत्राचार गरे पनि सुनुवाइ नभएको उनले जानकारी दिए ।
अन्नपूर्णबाट