Wednesday, October 23, 2024

कांग्रेस महासमिति बैठक मंसिरको पहिलो हप्ता नहुने निश्चित भएको छ

Share

कात्तिक १७, काठमाडौँ – नेपाली कांग्रेसको महासमिति बैठक तोकिएको समयमा नहुने भएको छ । कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने निर्णय भदौमा गरेको थियो ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले प्रतिवेदनले अन्तिम रुप नलिँदा महासमितिको बैठक नै सर्ने निश्चित भएको नेताहरुले बताएका छन् ।

मस्यौदा समितिले महासमिति सदस्यको संख्या, केन्द्रीय समिति र पदाधिकारीको संख्या, संसदीय र अनुशासन समिति गठनलगायतका विषयमा सहमति जुटाउन सकेको छैन ।

समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कार्य समितिले अनुमोदन गरेपछि स्वीकृतिका लागि महासमिति बैठकमा स्वीकृतिका लागि पेश गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ ।

अनुमोदन गर्नुअघि पनि केन्द्रीय सदस्यले अध्ययन गरेर त्यसमा संशोधनसमेत राख्न पाउने भएकाले अब तोकिएको समयमा महासमिति बैठक नहुने निश्चित भइसकेको महामन्त्री शशांक कोइरालाले बताए ।

शुक्रबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमा महामन्त्री कोइरालाले महासमितिको बैठक दुई हप्ता पर सर्न सक्ने जानकारी दिए ।
महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनु पर्ने भए पनि शेरबहादुर देउवा सभापति भएपछि साढे तीन वर्ष यता पहिलोपटक बैठक बोलाउन लागिएको हो ।

महासमितिले पार्टी नेतृत्वको चयनबाहेक अरु सबै अधिकार प्रयोग गर्न सक्ने कांग्रेस विधानमा उल्लेख छ ।

विधान संशोधनसँगै महासमिति बैठकमा पेश गर्ने राजनीतिक, आर्थिक प्रस्तावसमेत तयार भएर केन्द्रीय समितिमा छलफल हुन बाँकी छ । यहीबीचमा तिहार, छठ जस्ता ठूला पर्व परेकाले केन्द्रीय समितिले छलफल गरेर टुंग्याउन पनि मुस्किल हुने नेता गगन थापाले बताए ।

उनले देश सञ्चारसँग भने, ‘विधानबारे केन्द्रीय समितिमा छलफल हुन्छ । अध्ययनका लागि केही समय दिनै प¥यो, मस्यौदा समितिले जे ल्यायो त्यसैमा ताली पिट्ने कुरा हुँदैन । जसले गर्दा अब पनि तोकिएकै समयमा बैठक हुन्छ भन्नु हुँदैन ।’

महासमिति बैठक छिटो बोलाउनु पर्ने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले निरन्तर दबाब दिँदै आएको छ । गत वर्ष भएका चुनावमा पार्टी पराजित भएपछि त्यसको जिम्मा सभमापतिले लिनुपर्ने बताउँदै पौडेल पक्षले डेढ वर्षपछि हुने १४औं महाधिवेशनका लागि आधार तयार पार्न खोजिरहेको छ ।

पौडेल पक्षले भदौमै महासमिति बैठक बोलाउन माग गरे पनि सभापति देउवा मंसिरमा गर्ने निर्णय गराएका थिए ।

Read more

Local News