कात्तिक १७, पोखरा- पोखरा प्रिमियर लिग – पीपिएल क्रिकेटमा शनिबार लिग चरणका खेल सकिँदैछन्। पहिलो चरणको अन्तिम दिन फाइनल पुग्ने एक टोली र एलिमिनेटर पुग्ने दुई टोलीको टुंगो लाग्ने छ।
शनिबार काठमाडौँ रोयल्सले पोखरा पल्टनको सामना गर्ने छ। अर्को खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ। शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन चार खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ चार खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको दीपेन्द्र सिंह एेरीको कप्तानीमा रहेको धनगढीको पाँच खेलबाट ६ अंक छ। पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज चार खेलबाट चार अंक जोडेर चौथो स्थानमा छ।
पहिलो चरणको समाप्तीपछि शीर्ष टोली फाइनल पुग्ने छ। दोस्रो र तेस्रो स्थानको टोलीबीच एलिमिनेटर हुने छ। यो खेलको विजेता पनि फाइनल पुग्ने छ। एलिमिनेटर आईतबार र फाइनल मंगलबार हुने तालिका छ।
पोखराले यस प्रतियोगितामा वुटवल र धनगढीसँग हार ब्यहोरेको थियो। काठमाडौँको एकमात्र हार चितवनसँग भएको हो। सुरुका दुई खेलमा पराजित भएको चितवन त्यसपछि लगातार खेल जितेर अगाडि बढ्न सक्ने होडमा देखिएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले चार खेल खेलिसक्दा केवल एउटामात्र जित हात पारेको छ।