कात्तिक १८, काठमाडौँ – जुलियन लोपेतेगीलाई बर्खास्त गरेर क्लबको जिम्मेवारी अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई सुम्पिएपछिका खेलमा रियल मड्रिडले जित निकालिरहेको छ ।
क्लबको अन्तरिम प्रशिक्षकको रुपमा भएको पहिलो खेलमा सोलारीले कोपा डेल रेमा जित निकालेका थिए । उनले प्रशिक्षकका रुपमा ला लिगामा पनि जित निकालेका छन् ।
ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा अन्तिमको सात मिनेट बाँकी हुँदासम्म रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको थियो ।
तर अन्तिम समयमा उसले दुई गोल गरेको हो । ओलिभेरा जुनियरले ८३ औँ मिनेटमा रियलका लागि गोल गरे । यस्तै ८८ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भयो । ला लिगामा पछिल्ला ६ खेलमा रियल मड्रिडको यो पहिलो जित हो । जितपछि ११ खेलबाट १७ अंक जोडेको रियल मड्रिड छैटौँ स्थानमा उक्लिएको छ ।
शनिबार राति नै भएको खेलमा लेगानेससँग १–१ को बराबरी खेलेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २० अंक भएको छ । अर्को खेलमा जिरोनाले भ्यालेन्सियालाई १–० ले हरायो ।