Sunday, December 22, 2024

कागतिहारमा दीपाश्री निरौलालाई आलुको तिलहरी!

Share

कात्तिक १९,  काठमाडौँ– कार्यक्रमको नामै आलु पार्टी। घरभित्र आलुका परिकार बनाउने व्यस्तता। बाहिर कार्यक्रमस्थलमा चाहिँ नेपाली हास्य व्यङ्ग्य क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थिति। सबैलाई एकपछि अर्को गर्दै आफ्ना हास्य व्यङ्ग्य रचना सुनाउने हतारो।

नेपाली हास्य व्यङ्ग्य क्षेत्रका पूराना श्रष्टा एवं शिक्षासेवी रामकुमार पाँडेको ललितपुरको जावलाखेलस्थित घरमा कागतिहारका अवसरमा आयोजना गरिएको आलु पार्टीमा सोमबार अलि पृथक प्रस्तुतिले वातावरण व्यङ्ग्यात्मक बनाइएको थियो।

 

कार्यक्रम सुरु भएको केही समयपछि नेपाली रजतपटकी अहिलेकी सबैभन्दा लोकप्रिय र सफल निर्माता, निर्देशक तथा कलाकार दीपाश्री निरौला आइपुगिन्। छक्कापञ्जा–३ को सफलताले गदगद् दीपाश्रीले आउन साथ तिलहरी लगाउन पाइन्।

अविवाहित दीपाश्रीलाई तिलहरी? हो, कार्यक्रमका संयोजनकर्ता एवं हास्य व्यङ्ग्य लेखकको क्षेत्रमा करिब साढे ५ दशकदेखि सक्रिय रामकुमार पाँडेले दीपाश्री निरौलालाई कार्यक्रममा स्वागत तथा सम्मान गर्दै तीन वटा आलुको तिलहरी लगाइदिएका हुन्। पाँडेले सम्मानपत्र पनि प्रदान गरे।

 

दीपाश्रीसँगै कलाकार एवं निर्देशक दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे लगायतका कलाकारहरुको आतिथ्य रहेको थियो। हास्य व्यङ्ग्य समाज नेपालको प्रस्तुति रहने आलु पार्टी २०३४ सालदेखि हरेक वर्ष कागतिहारका दिन आयोजना गरिन्छ।

 

Read more

Local News