कात्तिक १९, काठमाडौँ – पछिल्ला ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजार भन्दा धेरैको ज्यान गएको छ । यो अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष ०६४/६५ देखि ०७४/७५ सम्म भएका ९१ हजार ८ सय ५७ सवारी दुर्घटनामा २० हजार १ सय ७७ व्यक्तिले ज्यान गुमाएका हुन् ।
नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर सडक दुर्घटनामा त बिरलै छानबिन समिति बन्छन् र त्यसका प्रतिवेदन अलपत्र पर्छन् ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा ११ असोज ०७३ मा एक समिति बनेको थियो । सरकारले यो समितिलाई पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाब ल्याउन कार्यादेश दिएको थियो । समितिले नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रतिवेदन बुझाएको थियो ।
०७१/७२ मा मात्रै यी सडकखण्डमा एक सय २८ दुर्घटना भएको र एक सय एकजनाको ज्यान गएको प्रतिवेदनको तथ्यांक छ । ०६८/६९ देखि मापसे गरेर सवारी चलाउनेविरुद्ध राष्ट्रव्यापी अभियान चलाएपछि दुर्घटनामा तुलनात्मक कमी आए पनि ०७१/७२–०७३/७४ मा दुर्घटना ९.५५ ले वृद्धि भएको प्रतिवेदन तयार पारेको थियो ।
चालकको लापरबाहीले ९२ प्रतिशत दुर्घटना
पाँच वर्षको तथ्यांक अनुसार मुलुकभर भएका मध्ये ९२ प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही देखिएको छ । ०७०/७१ देखि ०७४/७५ सम्मको अवधिमा भएका कुल ४६ हजार सात सय ९२ दुर्घटनामा ४३ हजार एक सय दुर्घटना चालकको लापरबाहीले भएका हुन् । यो कुल दुर्घटनाको ९२ दशमलव १२ प्रतिशत हो । मादक पदार्थ सेवन, तीव्र गति, ओभरटेक जस्ता चालकका गल्तीले यी दुर्घटना भएका हुन् ।
नयाँ पत्रिकाबाट