Sunday, October 27, 2024

तिहारको लागि वीरगन्जबाट मात्रै ४५ करोडको झिलिमिली बत्ती भित्रियो

Share

कात्तिक २१, वीरगन्ज – तिहार अर्थात दीपावलीमा पहिले पहिले गाउँघरमै कुमाले बनाएका माटाको दियोमा बत्ती बालेर घर आँगन र गाँउटोल झिलिमिली पारेर लक्ष्मीपूजा गरिन्थ्यो । तर केही वर्ष यताका तिहारमा माटाको दियोको भन्दा विद्युतीय बत्ती बाल्ने प्रचलन निक्कै बढेको छ । प्रयोग बढेसँगै भारत र तेस्रो मुलुकबाट विद्युतीय बत्तीको आयातमा पनि भारी मात्रामा बढोत्तरी भएको छ ।

यसवर्षको तिहारमा भारत र तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै गत साल भन्दा झन्डै तेब्बर भन्दा बढी मूल्यको विद्युतीय भिलीमीली बिजुली बत्ती आयात भएको छ । वीरगन्जमा रहेका वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह दुवै नाकाबाट चालु आर्थिक वर्षको साउन देखि कात्तिक १५ सम्मको अवधिमा ४४ करोड ७१ लाख एक हजार ६ सय रुपैयाँ मूल्यको विद्युतीय बत्ती आयात भएको हो ।

गत सालको तिहारको त्यही अवधिमा दुवै नाकाबाट १६ करोड ५६ लाख ७८ हजार तीन सय ७९ रुपैयाँको मात्र विद्युतीय बत्ती आयात भएको थियो । पोहोर सालको तिहारको भन्दा यसपालिको तिहारमा वीरगन्ज नाका हुँदै २८ करोड १४ लाख २३ हजार तीन सय १६ रुपैयाँ बढीको विद्युतीय बत्ती आयात भएको हो ।

बत्तीबाट मात्र १२ करोड ४७ लाखको राजश्व

तिहारमा वीरगन्ज नाका हुँदै साँढे तीन महिनाको अवधिमा भित्रिएका विद्युतीय झिलिमिली बत्तीबाट १२ करोड ४७ लाख ९५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको साउन देखि कात्तिक १५ सम्म साँढे तीन महिनाको अवधिमा भित्रिएका विद्युतीय बत्तीबाट वीरगन्ज भन्सार कार्यालयले सात करोड ३७ लाख ५८ हजार तीन सय ४० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने त्यही अवधिमा विद्युतीय बत्तीको आयातबाट पाँच करोड १० लाख ३६ हजार आठ सय ३६ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
अन्नपूर्णबाट

Read more

Local News