Saturday, December 21, 2024

नेपालमा वार्षिक साँढे ४३ करोडको सयपत्री फूलको कारोबार,तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको

Share

कात्तिक २१, काठमाडौँ – नेपालमा वार्षिक साँढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ’, एसोसिएसनका कुमार कसजु श्रेष्ठले भने, ‘वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’

फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री पुष्पको माला खपत हुन्छ । एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ । उनका अनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्य बराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ ।

एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री पुष्पमा नेपाल आत्मनिर्भर हुन नसकेको हो । संघीय सरकारले यो पुष्पमा आत्मनिर्भर हुनका लागि कुनै योजना तथा बजेट नछुट्टयाएकाले कूल मागको करिब एक चौथाई भारतबाट आयात गर्नु परेको छ । ‘संघीय सरकारले हामीलाई सहयोग गरे हामी एक वर्षमै आयात दर पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्षम छौं,’ श्रेष्ठले भने, ‘सरकारले बीउ, टनेल र प्राविधिक विषयमा सहयोग गर्न सक्यो भने हामी आयात प्रतिस्थापन गर्ने मात्रै होइन, केही परिमाणमा निर्यात समेत गर्न सक्षम छौं ।’

फ्यानका अनुसार वर्षभरिको माग बाहेक तिहारको समयमा सयपत्रीको छुट्टै कारोबार हुन्छ । तिहारमा हुने करिब ११ करोड बराबरको आन्तरिक उत्पादनमा १२ लाख माला बिक्री हुन्छ । तीन लाख थान सयपत्री माला भने आयात हुन्छ । ‘यो बेला हरेक व्यक्तिले पूजाआजा र घर सजाउन सयपत्रीको उपभोग गर्छन्,’ श्रेष्ठले भने, ‘तिहारमा एक करोडको भारतबाट आयात हुन्छ, ११ करोडको हाम्रो आन्तरिक उत्पादनबाट आउँछ ।’
अन्नपूर्णबाट

Read more

Local News