Wednesday, October 23, 2024

राष्ट्रपति र उपराष्ट्रपतिबाट नेपाल संवतको छुट्टा छुट्टै शुभकामना

Share

कात्तिक २२, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा गर्नुभएको छ ।

सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पूग्ने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिबाट पनि शुभकामना

उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरूको महान् चाड तिहार तथा नेपालको मौलिक संवत् नेपाल संवत ११३९ को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका उपराष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

महान् चाड तिहार र नव वर्षले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहानालाई पूरा गर्न तथा सबै नेपालीलाई एकाकार भएर अगाडि बढ्न प्रेरणा दिउन् भन्ने कामना गर्नुभएको छ ।
रासस

Read more

Local News