कात्तिक २३, रौतहट – छठ पूजा गर्ने संकल्प गर्दै व्रतालुहरुले शुक्रबार विहान गोवर्द्धन पूजा गरेका छन्। सामान्यता सूर्योदय पूर्व नै गोवर्द्धन पूजा सम्पन्न गर्नुपर्नेमा हिजो विहीवार परेकोले सूर्योदयपछि गोवर्द्धन पूजा गरिएको हो। आइतबार, मंगलबार र विहीबार परेमा गोवर्द्धन पूजा भोलिपल्ट गरिन्छ। छठ पूजा गरिने समाजमा जसको सूर्योदय उसैको रात गणना गरिने चलन छ। विहीबारको सूर्याेदयदेखि दिन गणना गरिँदा शुक्रबारको सूर्योदय नहुँदा सम्म विहीवबा नै मानिने भएकोले सूर्याेदयपछि छठ व्रतालुहरुले गोवर्द्धन पूजाको तैयारी थालेका छन्। हरेक व्रतालुले अनिवार्य रुपमा गोवर्द्धन पूजा गर्ने चलन रहेको छ।
“गोवर्द्धन पूजासँगै छठ पर्वको सुरुआत भएको मानिन्छ। गोधन कुटाइपछि व्रतालुहरुले छठ पर्वको सामग्री पकाउने चुलो बनाएका छन्। यसै गरी छठ पर्वमा प्रयोग हुने मुख्य प्रसाद ठेकुवा र कसारको लागि धान तथा गहुँ सुकाउने काम आजैबाट सुरु भएको छ।”
गाई र गोरुको गोठमा गोबरलाई पहाड तथा गोवर्द्धन भगवानको प्रतिक बनाइन्छ। घरमा गाई वा गोरु हुने व्रतालुले आफ्नै गोठबाट गोवर्द्धन भगवानको प्रतिक बनाएर गाउँको कुनै चौबाटोमा भेला भएर सामूहिक गोवर्द्धन पूजा गर्छन जसलाई गोधन कुटाइ भनिन्छ। गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ आदिको प्रयोग गरिन्छ। सबैको घरबाट गोवर्द्धन भगवान आएपछि एकै ठाउँमा गोवर्द्धन पहाड बनाइन्छ। त्यहाँ एउटा माटोको हाँडीलाई चारैतिरबाट टिका लगाएर हाँडीभित्र माटोको दियो बालेर गोवर्द्धन पहाडमाथि राखिन्छ। चारैतिरबाट व्रतालुहरुले उभिएर पहिला छठ पर्वको गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन्। हाँडी फुटाउने जुवालाई छठ पर्व गर्नेले मात्र समाउँछन्। हाँडी फुटेपछि उपस्थित सबै महिलाले दाजु र भाइको नाम लिई एकै स्वरमा गीत गाउँछन् जसलाई स्थानीय बज्जिका भाषामा सरापेको भन्छन्। गीतमा दिदी–बहिनीले दाजु–भाइको लामो आयुको कामना र प्रार्थना गर्दछन्। हाँडी फुटाएको गोबरमा चढाइएका विभिन्न सामग्रीलाई सबै व्रतालुहरुले निकाल्ने प्रयास गर्दछन्। मुख्य गरी दाजु भाइले अनिवार्यरुपमा त्यो सामग्री कपासमा मुछेर खाने चलन रहेको गढीमाई नगरपालिका ४ पर्सा टोलकी ६० वर्षीय व्रतालु सीतादेवी चौधरीले बताइन्।
गोवर्द्धन पूजासँगै छठ पर्वको सुरुआत भएको मानिन्छ। गोधन कुटाइपछि व्रतालुहरुले छठ पर्वको सामग्री पकाउने चुलो बनाएका छन्। यसै गरी छठ पर्वमा प्रयोग हुने मुख्य प्रसाद ठेकुवा र कसारको लागि धान तथा गहुँ सुकाउने काम आजैबाट सुरु भएको छ। गोवर्द्धन पूजा सम्पन्न भएपछि छठ पर्वको औपचारिक सुरुवात हुने मधेस संस्कृतिको विषयमा जानकार सञ्जय मित्रले बताए।
कतिपयले सूर्यलाई अर्घ्य दिने कार्यलाई मात्र छठ पर्व मान्ने गरेको कुरालाई अस्वीकार गर्दै मित्रले सूर्यलाई साक्षी राखेर छठीमाईको पूजा गरिने बताए। रातभरि पूजा गर्ने भनेर अस्ताउँदो सूर्यलाई साक्षी राख्दै भोलिपल्ट बिहान पनि उदाउँदो सूर्यलाई साक्षी राख्ने परम्परा रहेको बताउँदै मित्र भन्छन् ‘छठीमाईको वास्तविक पूजा खरनाको साँझ घरमा गरिने पूजा र षष्ठीको राति रातभरि जाग्राम बसी कोसिया भर्ने काम हो।’ लोकपर्व छठलाई कतिपयले शास्त्रीय पर्वको रुपमा मान्ने गरेकोलाई मित्रले अस्वीकार गरेका छन्।
गोवर्द्धन पूजालाई भरदुतिया पनि भन्ने गरेको सन्दर्भलाई पत्रकार चन्द्रकिशोरले छठसँग सम्बन्धित रहेको बताउँछन्। गोधन कुटाइमा प्रयोग गरिएको केराउलाई मिठाइमा राखेर दाजुभाइलाई खुवाउने र कपासलाई दाजुभाइको कन्धनीमा बाँध्ने चलन रहेको चन्द्रकिशोर बताउँछन्। तराई मधेसमा मनाइने भरदुतिया चाहिँ भाइटीका नभएको र भाइटीकाभन्दा निकै फरक छठसँग सम्बन्धित रहेको चन्द्रकिशोरको दाबी छ।