Wednesday, October 23, 2024

सद्भाव र एकताको प्रतीक मानिने छठ पर्व,आज उदाउँदो सूर्यलाई अघ्र्य दिए पछि सकिंदै

Share

कात्तिक २८, काठमाडौँ – सद्भाव र एकताको प्रतीकका रुपमा लिइने छठ पर्व आज देखि विधिवत रुपमा सकिंदै छ । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिए पछि छठ पर्व सकिन्छ । छठ पर्व अन्तर्गत बर्तालुले हिजो अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजार्चना गरेका थिए ।

बर्तालुहरू यहाँका इतिहास वर्णित गङ्गासागर, अरगजा लगायतका पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका परिकारहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलश सहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउँदो सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महीनाको षष्ठीका दिन मनाइन्छ ।

यस पर्वमा उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, प्रयोग हुन्न । छठको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइयो भने बुधबार (आज) उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सकिन्छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक सुख समृद्धिका लागि छठको पूजा आराधना गर्ने गरिन्छ ।
रासस

Read more

Local News