Sunday, October 27, 2024

हस्तकला व्यापार मेला आजदेखि भृकुटीमण्डपमा सुरु हुँदै

Share

कात्तिक २८, काठमाडौँ – नेपाल हस्तकला महासङ्घले लोपोन्मुख कलाकृतिहरूको जगेर्ना गर्ने उद्देश्यले बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला गर्दैछ ।

१६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता मंसिर दुई गतेसम्म चल्नेछ । मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिनेछ ।

स्वदेशी व्यवसायीले १५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्षमार्फत आ–आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन् ।

प्रदर्शनीमा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग तथा हस्तकलाका विभिन्न आयाम र सिर्जनासम्बन्धी विषयमा अन्तरक्रिया गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गरिनेछ ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रमा संलग्न स्वदेशी तथा विदेशी कालिगडका समस्या र सम्भावनाबारे छलफल तथा उनीहरूलाई पेशाप्रति उत्प्रेरित गरी नयाँ पुस्तालाई हस्तकला क्षेत्रप्रति आकर्षित गर्न मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

त्यसैगरी १४ औँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र ‘ढाका बुनाइ’ समावेश गरिएको छ । प्रतियोगितामा संलग्न कलाकार तथा कालिगडले जीवन्त प्रदर्शनी गर्ने कार्यक्रम छ ।

उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार नगद तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

Read more

Local News