कात्तिक २८, काठमाडौँ – एकपछि अर्को अनुसन्धानमा प्रश्न उठेपछि काठमाडौं प्रहरी परिसर, टेकुले आर्थिक प्रलोभन दिएर पीडित पक्षलाई चुप लगाउने गरेको खुलेको छ ।
पछिल्लो दुई महिनामा काठमाडौं प्रहरी परिसरको कारबाहीका क्रममा भएको ३ जनाको ‘रहस्यमय’ मृत्यु भएको छ । दुबै घटनालाई गुपचुप राख्न प्रहरीकै सक्रियतामा आर्थिक लेनदेन गराइएर पीडित पक्षलाई मौन राखिएको खुलासा भएको हो ।
२० असोजमा मुलपानीमा प्रहरीले विना पूर्वतयारी अपरेशन चलाउँदा सरोज घले र सानुलाल तामाङको ज्यान गयो । जुवा अपरेशनका क्रममा भागदौड मच्चिएको र छतबाट खसेर दुबैको मृत्यु भएको प्रहरीको दाबी थियो । तर, कोठाभित्र रगतका टाटाहरु देखिएपछि पीडित परिवारले शव उठाउन मानेनन् ।
मृतकको शव बुझ्न प्रहरीकै सक्रियतामा १२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको पाइएको छ ।
मृतक सानुलालका दाजु प्रेम तामाङ पनि यो स्वीकार गरे । ‘त्यसवेला डीएसपी सा’बहरुले हामीलाई त्यति भए पनि पैसा लिन भन्नुभो’, उनले अनलाइनखबरसँग भने, ‘मृत्यु भवितव्य भएको भन्दै रकम लिन दबाव दिनु भएको थियो ।’
स्रोतका अनुसार त्यो रकम पनि घटनामा पक्राउ परेका घरधनी तेन्दु शेर्पालाई तिराइएको छ । घटनापछि पक्राउ परेका उनी पीडितलाई रकम तिर्ने शर्तमा छुटेका छन् भने पीडित पक्षलाई चुपचाप बस्न भनिएको पाइएको छ ।
प्रहरीले वारदातमा समातिएका व्यक्तिलाई १२ लाखसम्म तिर्न लगाएर आर्थिक लेनदेनमा सामसुम बनाएको यो घटना कानूनी शासनमा एउटा उदेकलाग्दो दृश्य हो ।
श्रीमतीको गल्ती, श्रीमानलाई थुनियो
बैंकिङ कसुरसम्बन्धी मुद्दामा १८ कात्तिकमा पक्राउ गरिएका नेपालटारका रविन्द्र ढुंगानाको मृत्यु भयो । प्रहरी हिरासतमा रहेका ढुंगानाको मृत्यु सन्देहात्मक रह्यो । तर, प्रहरीले आर्थिक लेनदेनमा मिलापत्र गरेर गुपचुप राखेको पाइएको छ ।
प्रहरी अस्पतालका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र कार्कीले मिटर ब्याजमा लगाएको ५ लाख रुपैयाँ फिर्ता गराउन संखुवासभा घर भइ नेपालटार बस्ने ४८ वर्षीय रविन्द्र ढुंगानालाई महानगरीय प्रहरी वृत्त, बालाजुले पक्राउ गर्यो।
कार्की दिएको जोहरीको आधारमा काठमाडौं परिसरले ढुंगानालाई पक्राउ गर्न दिएको आदेश बमोजिम बालाजु वृत्तले उनलाई पक्राउ गरेको थियो । पक्राउ गर्ने क्रममा असई कार्की आफैं पनि ढुंगानाको घर पुगेका थिए ।
प्रहरीले ढुंगानालाई पक्राउ गरे पनि ऋण भने ढुंगानाकी श्रीमती अन्नपूर्णले लिएकी थिइन् ।
तर, मुटु रोगी ढुंगानालाई पक्राउ गरी हिरासतमा राखियो । हिरासतमै उनलाई बिरामले च्याप्यो र ज्यानै गयो ।
ढुंगानाको मृत्युमा सम्बन्धी चिकित्सकहरुले उपलब्ध गराएको पोष्टमार्टम रिपोर्टमा भनिएको छ कि ढुंगानाको मुटुको भेन खुम्चिएको अवस्थामा एक्कासी ब्लक हुँदा उनलाई हर्ट एट्याक आयो र मृत्यु भयो ।
पोष्टमार्टम रिपोर्टलाई आधार मान्दाखेरि ढुंगानाको मृत्युमा अरुमाथि प्रश्न उठाउने ठाउँ छैन । तर, प्रश्न उठाउने ठाउँ चाहिँ कहाँ छ भने उखु किसानको ४७ करोड नतिर्ने व्यवसायीलाई रातारात नर्भिक अस्पताल भर्ना गराउने काठमाडौं प्रहरीले मुटुरोगी ढुंगानालाई भने अस्पताल भर्ना गर्न किन आवश्यक ठानेन ?
सामान्यतयाः चेक बाउन्सको घटनामा प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराउँछ । त्यसबाट सम्भव नभएमात्रै मुद्दा अघि बढाइन्छ । तर, यो घटनामा भने ढुंगानालाई जरुरी पक्राउ पूर्जी जारी गरेर ठूलै घटनाका अभियुक्तलाई जसरी समातेर ल्याइयो ।
२७ लाखको मिलापत्रपछि सबै मौन
ढुंगानाको मृत्यु भएलगत्तै परिवारले उनको मृत्यु प्राकृतिक नभएको दाबी गर्दै शव उठाउन मानेनन् । उनीहरुले सत्य, तथ्य सार्वजनिक गर्न माग गरे । त्यसक्रममा उनीहरुले सञ्चारमाध्यम पनि गुहारेका थिए । तर, अहिले भने पीडित परिवार मौन छ ।
आखिर किन अहिले सबै चुपचाप छन् त ? यो जान्नलाई आइतबार प्रहरी परिसरको हाताभित्र भएको ‘कचहरी’ बारे जान्नुपर्ने हुन्छ । दिउँसो करिब ११ बजेतिर तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरासहित स्थानीयको टोली परिसरमा पुगेको थियो ।
त्यहाँ बैंकिङ कसुरको जाहेरी दिने असई कार्की र पीडित पक्षबीच छलफल भयो । त्यसक्रममा मृतक परिवारलाई २७ लाख रुपैयाँ दिने र घटनालाई कसैले नउचाल्ने गरी मिलापत्र गरियो ।
स्रोतका अनुसार मिलापत्रमा २२ लाख लेखिएको भए पनि बाउन्स भएको चेकको रकम ५ लाख पनि फिर्ता नदिने गरी २७ लाखमा सहमति भएको हो ।
यस विषयमा मेयर बोहरासँग अनलाइनखबरले जिज्ञासा राख्दा उनले भने, ‘गाउँकै कुरा थियो । उहाँहरुले प्रहरीमा मिलाइदिन जानुपर्यो यो भनेपछि गएको हुँ ।’
मेयर बोहोराले प्रहरी परिसरमा आफू केहीबेर बसेर निस्किएको दाबी गरे । तर, मिलापत्र गराउन उनैले भूमिका खेलेको प्रहरी स्रोत बताउँछ । प्रहरी अधिकारीहरुले पनि यो घटनालाई सामसुम बनाउनै खोजेका थिए ।
‘सुरुमा ४५ लाख रुपैयाँ असईसँग माग गरिएको थियो’, परिसरका एक कनिष्ठ अधिकारी भन्छन्, ‘प्रारम्भिक छलफल परिसरभित्रै भयो र साँझतिर मात्रै २७ लाखमा कुरा मिल्यो ।’
मिलापत्रमा असई कार्कीले उक्त रकम मृतकका परिवारलाई २ महिनाभित्र तिरिसक्ने उल्लेख छ ।
मिटर ब्याजको ऋणमा हाकिमको लगानी ?
प्रहरीका केही अधिकारीहरुले बिचौलियामार्फत चर्को ब्याजमा ऋण प्रवाह गर्ने गरेको विषय नौलो होइन । यसअघि पनि प्रहरीका उच्च अधिकारीहरुले नै मिटर ब्याजमा ऋण दिएको सार्वजनिक भएकै हो ।
स्रोतका अनुसार असई कार्कीले ढुंगानाकी श्रीमतीलाई मिटर ब्याजमा ५ लाख रुपैयाँ ऋण दिएका थिए । उनीहरुबीच ३ वर्षदेखि कारोबार भइरहेको थियो । ६० प्रतिशतसम्म ब्याजमा रकम लेनदेन हुने गरेको प्रहरी स्रोतको भनाइ छ ।
असई कार्कीले प्रहरीका उच्च अधिकारीहरुको रकम आफूले लगानी गरेको अनौपचारिक कुराकानीमा बताउने गरेका थिए । जुन कुरा यसअघि नै मृतककी श्रीमतीले पनि सार्वजनिक गरिसकेकी छिन् ।
‘घरि एसपी सा’बको पैसा हो भन्थ्यो, घरि डीएसपी सा‘बको’, उनले भन्ने गरेकी छिन् ।
एक प्रहरी अधिकारी भने असई कार्कीले उनकी श्रीमती समेतको संलग्नतामा मिटर ब्याजमा रकम लगाउने गरेको बताउँछन् । मृतक ढुंगानाकी श्रीमतीसमेत ढुकुटी खेल्ने र खेलाउने कार्यमा संलग्न भएको दाबी गर्दै ती अधिकारीले भने, ‘आवश्यकता अनुसार उनले असईबाट पटक–पटक पैसा लिने गरेकी थिइन् ।’
असईले किन तिरे २७ लाखको मोटो रकम ?
आफू पीडित भएको भन्दै जाहेरी दिने असई आखिर एकाएक किन २७ लाख रुपैयाँ तिर्न मञ्जुर भए त ? स्रोतका अनुसार असई कार्की आफूमाथि थप अनुसन्धान हुने डरले घटनालाई जसरी पनि मिलाउन लागि परेका हुन् ।
उनीमाथि अनुसन्धान भएको अवस्थामा प्रहरीका माथिल्ला कर्मचारीहरु पनि तानिन सक्ने भएकाले पनि उनलाई घटना सामसुम पार्नुपर्ने बाध्यता रहेको सूत्रहरुको दाबी छ ।
स्रोतको दाबी अनुसार तारकेश्वरमा असई कार्कीले २५/२६ लाख रुपैयाँ मिटर ब्याजमा ऋण प्रवाह गरेका छन्, जुन उठ्न अझै बाँकी छ ।
‘एउटासँग १३ लाख, अर्कोसँग ५ लाख र अर्कोसँग ३ लाख उठाउन बाँकी रहेको देखिइसकेको छ’, परिसरकै एक अधिकारी भन्छन् ।
त्यो रकम उठाउनुपर्ने भएकाले पनि कार्की विवादमा आउन चाहँदैनथे । पीडित परिवारले सुरुमा उनीविरुद्ध किटानी जाहेरी पनि ल्याएका थिए । तर, दर्ता भएन ।
‘हामीले उनलाई नियन्त्रणमा पनि लिएका हौं’, परिसरका प्रमुख एसएसपी वसन्त लामा भन्छन्, ‘तर, भवितव्य भन्ने देखिएपछि उनलाई नियन्त्रणमा लिइराख्नु आवश्यक भएन । र, उनीमाथि थप कारबाही गर्ने ठाउँ नै भएन ।’
परिसरका डीएसपी होविन्द्र बोगटी विभिन्न विषयहरु सार्वजनिक भएपछि असई कार्कीको घरमा छापासमेत हानिएको बताउँछन् । तर, शंकास्पद केही नभेटिएको उनको भनाइ छ ।
‘त्यहाँबाट १५ तोला सुन र पौने ३ लाख रुपैयाँ बरामद भएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘अरु त्यस्तो शंका गर्नुपर्ने केही भेटिएन ।’
असई भन्छन्– हाम्रो पैसा माया मार्यौं, अरु केही होइन
चर्को ब्याजदरमा ऋण लगाउन बिचौलियाको भूमिका खेलेको आरोप लागेका असई कार्की भने बाहिर आएजस्तो यर्थाथ नभएको दाबी गर्छन् ।
‘हाम्रो पैसाचाहिँ माया मार्यौं’, उनले अनलाइनखबरसँग भने, ‘आफन्तै हुन्, भाञ्जा–भाञ्जीलाई दियौं ।’ अरु रकम तिर्ने सम्झौताबारे आफूलाई केही थाहा नभएको उनले बताए ।
उता महानगरीय प्रहरी आयुक्तको कार्यालयले यो घटनाबारे छानविनका लागि एसएसपी पूजा सिंहको नेतृत्वमा समिति बनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्री भन्छन्, ‘कुनै पनि बदमासीमा प्रहरीको संलग्नता रहेको गुनासो आउनेवित्तिकै यथार्थ छानविन गर्नु हाम्रो दायित्व हो । त्यसैले यसबारे छानिविन गर्न समिति बनाएका छौं ।’
डीआइजी क्षेत्रीले अहिले समितिले अनुसन्धान गरिरहेको बताउँदै यथाशीघ्र टोलीलाई निष्कर्ष दिन भनिएको अनलाइनखबरलाई बताए । ‘के के सहमति भयो भन्ने विषयमा पनि समितिले नै अनुसन्धान गर्छ’, उनले भने ।
काठमाडौं प्रहरी प्रमुख लामा पनि कार्कीले मिटर ब्याजमा रकम दिएर पीडित बनेकाहरुले उजुरी दिए उनीमाथि थप अनुसन्धान थालिने बताउँछन् । ‘अहिलेसम्म पीडित नै आएका छैनन्’, उनले भने, ‘हामी त आह्वान गर्छौं, पीडितले जाहेरी दिए विस्तृत अनुसन्धान थाल्छौं ।’
यसरी चल्दैछ मिटर ब्याजको धन्दा
नेपालमा जग्गाको कारोबार बढेसँगै मिटर ब्याजको धन्दा पनि मौलाएको हो । राष्ट्र बैंकले तोकेको ब्याजदर भन्दा चर्को दरमा ऋण प्रवाह गर्नु नै मिटर ब्याज हो । काठमाडौंमा ट्याक्सीको मिटरमा बील चढेजस्तै दिनहुँ चर्को ब्याज बढाएर असुलिने भएकाले यसलाई ‘मिटर ब्याज’ भन्न थालिएको हो ।
प्रहरी अधिकारीहरुका अनुसार पछिल्लो अवधिमा २५ देखि ६० प्रतिशतसम्म ब्याज लिएर ऋण प्रवाह हुने गरेको देखिन्छ । पछिल्लो समय राजधानीमा जग्गा कारोबार घटेसँगै मिटर ब्याजमा रकम लिनेमा क्यासिनो जाने र ढुकुटी खेल्नेहरु सक्रिय छन् ।
‘जब बैंक, फाइनान्स र अन्य व्यक्तिहरुले पत्याउँदैनन् तब, मिटर ब्याजमा पैसा लिन उनीहरु बाध्य हुन्छन्’, एक प्रहरी अधिकारी भन्छन्, ‘तर, रकम बढ्दै जाँदा उनीहरुमा त्यो तिर्न सक्ने सामथ्र्य हुँदैन र कतिपय अवस्थामा गलत काम हुने गरेका छन् ।’
मिटर ब्याजको रकम तिर्न नसक्दा आत्महत्या गरेका घटना पनि बेलाबेला सार्वजनिक हुने गरेका छन् । मिटर ब्याजमा लगाउने व्यक्तिले प्रहरीदेखि राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध देखाएर रकम असुली गर्छन् ।
‘पैसा फिर्ता गराउनका लागि त्रास देखाउने उद्देश्यले पनि उनीहरुले प्रहरीसँग नेक्सस देखाउँछन्’, बैंकिङ कसुरसम्बन्धी घटनाको अनुसन्धानमा गरिरहेका नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्छन्, ‘सुरक्षाका लागि उनीहरुले ऋण प्रवाह गरे बराबरको चेक अग्रिमरुपमा लिएका हुन्छन् ।’
ढुंगानाको घटनामा पनि असई कार्कीले आफ्नो चेक पहिल्यै लिएका थिए । जुन, पूरा रकम फिर्ता नभएपछि उनले बाउन्स गराएका थिए ।
कतिपय अवस्थामा भने सुरक्षाका लागि दृष्टिबन्धक, धितो लगायत पनि राख्ने गरिएको पाइन्छ ।