कात्तिक २८, काठमाडौँ – एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अाज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राईले सोनी कम्पनीको टीभी खरिद गरी ल्याइदिन भन्दै व्यवसायीसँग जिन्सी घुस मागेका थिए ।
तर, पछि टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले बिगो १ लाख ४० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।