Wednesday, October 23, 2024

लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सम्पन्न

Share

मंसिर १, रुपन्देही – लुम्बिनीमा पर्यटन प्रवद्र्धन र बुद्ध दर्शनको प्रचार गर्ने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा पहिलोपटक आयोजना गरिएको ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा सञ्चालित तीन दिने कार्यक्रममा १८ देशका एक हजार भिक्षु भिक्षुणी, उपासक उपासिकाले सामूहिक बुद्ध दर्शनको मूल ग्रन्थ त्रिपिटक वाचन गरेका थिए ।

कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय, सूत्र र अभिधम्म पिटकको वाचन गरिएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री भिक्षुले जानकारी दिनुभयो । त्रिपिटक भगवान् बुद्धको उपदेश सङ्गृहीत बौद्ध धर्मको पुरानो ग्रन्थ भएको जानकारी दिँदै उहाँले यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनु अघि सम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको बताउनुभयो ।

त्रिपिटक वाचन कार्यक्रममा नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड म्यान्मा, श्रीलङ्का, लाओस, कम्बोडिया, कोरिया, जापान लगायत देशका भिक्षु सहभागी थए । स्थानीय आयोजक समितिका सचिव चेतन पन्तले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तिम दिन हिजो साँझ मायादेवी परिसरमा दीपप्रज्वलन सहित शान्ति पदयात्रा गरिएको थियो ।
रासस

Read more

Local News