Wednesday, October 23, 2024

सरकार नेपालमै रोजगारी सिर्जना गर्न प्रयासरत छ : उद्योग मन्त्री यादव

Share

मंसिर १, कलैया – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार नेपालमै रोजगारी सिर्जना गर्न लागि परेको बताउनु भएको छ ।

डुमरवानामा बारा महोत्सव–२०७५ को उद्घाटन गर्दै उहाँले नेपालमा जल, जङ्गल र उद्योगधन्दा पर्याप्त रहेपनि सही सदुपयोग हुन नसक्दा लाखौँ युवा विदेशिन बाध्य भइरहेकाले सरकार यसमा गम्भिर रहेको बताउनुभयो ।

नेपाल कृषि प्रधान देश भए पनि उत्पादनको बजारीकरण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उहाँले उत्पादन र बजारीकरणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतमा उद्योगलाई धराशायी गरी रोजगारको अवसर बन्द गरिएको जिकिर गर्दै मन्त्री यादवले वर्तमान सरकार बन्द रहेका उद्योग सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न कार्ययोजना सहित अगाडि बढेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री प्रभु साह, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, सुन्दर विश्वकर्मा, महमद समिर, शोभा लामा, कुन्दन कुशवाहा, सीता गुरुङ, सविना खातुन लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । महोत्सवमा कपडा, खेलौना, विभिन्न खानाका परिकार, कृषि औजार, मनोरञ्जनका विभिन्न खेल लगायतका स्टल राखिएका छन् ।
रासस

Read more

Local News