Monday, December 23, 2024

सिन्धुलीमा स्थानीयवासीले अवैध रुपमा लगाएको ८ करोड बराबरको गाँजा खेती नष्ट

Share

मंसिर १, सिन्धुली – प्रहरीले शुक्रबार यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । मरिण गाउँपालिका–१ को टुँडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले शुक्रबारबाट गाँजा खेती नष्ट गर्ने अभियान शुरु गरेको छ ।

अहिलेसम्म वडा नं १ को टुँडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नं ३ मा लगाइएको २१ बिघामा जग्गाको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । यस क्षेत्रमा ठूलो परिमाणमा लगाइएको १५ बिघा भन्दा बढी क्षेत्रफलको गाँजा खेती शनिबार ( आज ) नष्ट गर्ने र विस्तारै कम परिमाणमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको समेत उहाँले बताउनुभयो ।

सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गरी अन्दाजी ४० बिघाको क्षेत्रफलमा व्यावसायिक गाजाँखेती गरेको प्रहरीको अनुमान छ । प्रहरी नायब महानिरीक्षक दीपक थापाको विशेष निर्देशनमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानको शुरुआत गरेको छ । प्रहरीले आठ करोड मूल्य बराबरको गाँजा खेती नष्ट गरेको प्रहरी दाबी छ ।
रासस

Read more

Local News