Wednesday, October 23, 2024

डोल्पा सदरमुकाम दुनै सडक सञ्जालमा जोडियो

Share

डोल्पा – नेपाली सेनाको एक दशक लामो प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट सुरु भई डोल्पाको त्रिपुरासुन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्ड सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो ।

एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो । छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ ।

प्रदेश नं–६ अन्तर्गतको प्राकृतिक विविधताले भरिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ ।

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणा अनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ ।

जाजरकोट–डोल्पा सडकको ट्र्याक खोलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् ।

Read more

Local News