Wednesday, October 23, 2024

लमजुङको चेपाङ बस्तीमा पनि अब बल्ने भो बिजुली

Share

मंसिर २, लमजुङ – वर्षौदेखि अन्धकारमा बस्न बाध्य लमजुङको चेपाङ बस्तीमा बिजुली बल्ने भएको छ ।

चेपाङबस्ती वर्षौदेखी अन्धकारमा रहेकोबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण÷प्रकाशन भएसँगै चेपाङबस्तीमा बिजुली पुग्ने भएको हो । वर्षौदेखि टुकीकै भरमा रात बिताएका चेपाङ बस्तीमा बेसीशहर नगरपालिकाले बिजुली बालिदिने भएको हो ।

लमजुङको बेसीशहर नगरपालिका–११, वरबोटको चेपाङबस्तीमा बिजुली पुर्याउनका लागि आवश्यक पर्ने तार, मिटर–बक्सका साथै प्राविधिकसहितको व्यवस्था गरेर बेसीशहर नगरपालिकाले बिजुली बालिदिने भएको हो । आर्थिक अभावका कारण वर्षौदेखी अन्धकारमा बस्न बाध्य चेपाङबस्तीमा बिजुली बाल्नका लागि बेसीशहर नगरपालिकाको कार्यपालिका बैठकले ६० हजार रुपैयाँ छुट्याएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिनुभयो ।

चेपाङबस्तीमा कुल १० घर छन् । ३ घरले बिजुली बालेका छन् । आर्थिक अभावकै कारण बाँकी ७ घरले बिजुली बाल्न सकेका छैनन् । चेपाङबस्तीको घर–आँगन नजिकै ७० मेगावाट क्षमताको मध्यमर्याङ्दी जलविद्युत आयोजनाकोे जलाशय छ । नेपाल विद्युत प्राधिकरण लमजुङ विद्युत वितरण केन्द्रले समेत चेपाङबस्तीमा ६ थान बिजुलीको पोल उपलब्ध गराउने प्रमुख दीपक दाहालले बताउनुभयो ।

‘चेपाङ बस्तीमै पुगेर उनीहरुको अवस्था बुझ्यौँ । उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएको पायौँ । त्यसैले पनि उनीहरु बिजुली बाल्नबाट बञ्चित रहेछन् । त्यसैले उनीहरुको घरमा बिजुली पुर्याउनका लागि केन्द्रले बिजुलीको पोल र ढुवानी खर्च उपलब्ध गराउनेछ,’ उहाँले थप्नुभयो । बिजुली पुर्याउन मात्र नभई नगरपालिकालको चेपाङ बस्तीमा सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैया बजेट समेत छुट्याएको छ ।

उनीहरुसँग भएको मौलिक कला संस्कृति, सामाजिक चालचलन र सचेतनामूलक कार्यक्रम गर्न सामुदायिक भवन आवश्यक भएसँगै ३ लाख रुपैयाँ बजेट नगरपालिकाले विनियोजन गरेको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताउनुभयो ।

बेसीशहर नगरपालिका–११, चिती बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको कुल १४ घरधुरी रहेको छ ।

Read more

Local News