Tuesday, December 10, 2024

मेन्छ्यायेम डाँडाको ऐतिहासिकतालाई लिएर पूर्वी नेपालका लिम्बू समुदायबीच विवाद

Share

मंसिर ८, तेह्रथुम – तेह्रथुमकै सर्वोच्चस्थल तथा संखुवासभा र ताप्लेजुङको संगममा रहेको मेन्छ्यायेम डाँडाको ऐतिहासिकतालाई लिएर पूर्वी नेपालका लिम्बू समुदायबीच विवाद सुरु भएको छ ।

डाँडाको ऐतिहासिक पहिचान जोगाउने र संरक्षण गर्ने सवालमा तेह्रथुमसहित संखुवासभा, ताप्लेजुङ, धनकुटा, सुनसरी र मोरङका लिम्बू समुदायका अगुवाहरु दुई कित्तामा उभिएका छन् । 

किराँत धर्म मान्ने सत्यहाङ्मा लिम्बू समुदायले मेन्छ्यायेम डाँडामा माङ्हिम अर्थात् मन्दिर बनाउन सुरु गरेपछि युमा धर्म मान्ने लिम्बू समुदायका विभिन्न संघ संस्थाले त्यसको विरोध गरेका हुन् । विरोधपछि निर्माणाधीन मन्दिर तथा पूजा स्थलको काम रोकिएको छ ।

डाँडाको शीर अर्थात् ३ हजार २ सय मिटरको उचाइमा किराँत धर्मावलम्वीले घेराबारा गरी मन्दिर निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बू समुदायले लिम्बू जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध गरेका हुन् ।

मेन्छ्यायेम डाँडा तेह्रथमको मेन्छ्यायेम गाउँपालिका, ताप्लेजुङको मैयाखोला गाउँपालिका र संखुवासभाको चैनपुर नगरपालिकाको संगमस्थल हो । लिम्बू भाषामा ‘मेन्छ्या’ को अर्थ तरुनी र ‘येम’ को अर्थ उभिएको भन्ने हुन्छ ।

टाढाबाट हेर्दा तरुनी उभिएको जस्तो देखिने भन्ने अर्थमा ‘मेन्छ्यायेम’ भन्ने क्रममा मेन्छ्यायेम भन्न थालिएको लिम्बू अगुवा बताउँछन् । डाँडामा देखिने तरुनीलाई लिम्बू समुदायले मान्ने युमा देवी मान्छन् । त्यसकारण पनि किराँत र युमा दुवै धर्मका लिम्बू समुदायले मेन्छ्यायेम डाँडालाई महत्वपूर्ण स्थल मान्छन् ।

किराँतीहरुले मेन्छ्यायेम डाँडामा ०५० सालतिरैबाट बर्सेनि पूजाआजा गर्दै आएको बताउँछन् । उनीहरुले आफूले वर्षौँदेखि मान्दै आएको ठाउँमा माङ्हिम निर्माण गर्नु गलत नभएको दावी गर्छन् । दुवै धर्मले युमालाई नै मान्ने गरेको समेत उनीहरु स्वीकार्छन् । तर मुन्धुममा उल्लेख भएविपरीत सत्यहाङ्माहरुले डाँडाको पहिचानलाई मेटाउन खोजेको युमा धर्मका अनुयायीहरुको अरोप छ ।

मेन्छ्यायेम डाँडाको अस्तित्व संकटमा पर्न थालेको भन्दै विरोधमा उत्रिएका युमा धर्मावलम्बी लिम्बू समुदायले मेन्छ्यायेम डाँडा संरक्षण समिति नै गठन गरेका छन् । दुवै धर्मावलम्बीले छुट्टा–छुट्टै पत्रकार सम्मेलन गरेर डाँडाका विषयमा आ–आफ्ना धारणाहरु सार्वजनिक गरेका छपन् ।

युमा धर्मावलम्बीले बनाएको संरक्षण समितिका सचिव भिमसेन लिम्बूले लिम्बू समुदायको हरेक संस्कारसँग जोडिएको मेन्छ्यायेम डाँडामा सिमेन्ट, रड, इँटालगायतका सामग्री प्रयोग गरेर भौतिक संरचना निर्माण गर्दा लिम्बू समुदायको संस्कार र अस्तित्वमाथि आक्रमण भएको आरोप बताउनुभयो ।

मेन्छ्यायेम डाँडाको इतिहास केही फरक भएकाले यो डाँडामा बलीभोग, होम होमादी, मूर्ति पूजा, मदिरा जन्य भौतिक पूर्वाधार निर्माणलगायतका केही पनि काम र पूर्वाधार निर्माण गर्न नहुने सचिव लिम्बूले बताउनुभयो । ‘नयाँ बन्ने संरचनाका कारण मेन्छ्यायेम डाँडाको मौलिकता नै हराउँछ’, उहाँले भन्नुभयो । किराँत धर्मावलम्वीहरूले मेन्छ्यायेम डाँडामा लिम्बू जातिको संस्कार विपरीत कार्य गरेको त्यसको विरोध गरिएको युमा धर्मावलम्बीले बताए ।

किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको मेन्छ्यायेम डाँडामा कुनै पनि जातीय र धार्मिक कारणले समग्र पर्यटन क्षेत्रलाई असर पुर्‍याउनु नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मेन्छ्यायेमको इतिहास लिम्बूसँग जोडियो, तर अब यो लिम्बूको मात्रै रहेन, यो साझा शीर हो ।’ उहाँले मेन्छ्यायेमको शीरलाई उँचो राख्न सबै धर्म र जातजातिको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

किराँत धर्म तथा साहित्य उत्थान संघले भने आफूहरुले प्रशासनको स्वीकृतिमा नै माङ्हिम निर्माण थालेकाले कसैले पनि रोक्न नहुने दाबी गरेको छ । किराँत धर्मावलम्वीले ०५२ देखि सोही स्थानमा पूजाआजा गर्दै आएको र पूजालाई निरन्तरता दिन मन्दिर निर्माण थालिएको संघका तेह्रथुम अध्यक्ष राजकुमार तेयुङले बताउनुभयो ।

आफूहरूले धार्मिक रूपमा संरक्षण गर्न थालेको डाँडालाई पुनः संरक्षणको नाममा युमा धर्मावलम्वीले हस्तक्षेप गरेको संघका केन्द्रीय सदस्य ललितबहादुर सोदेम्बाले बताउनुभयो । मन्दिर निर्माणका लागि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका र ताप्लेजुङको मैयाखोला गाउँपालिकासँग स्वीकृति लिएरै मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समिति अध्यक्ष मणिकुमार चोङबाङले बताउनुभयो ।

माङहिम निर्माणका लागि मेन्छ्यायेम गाउँपालिकाले अघिल्लो वर्ष ३ लाख रुपैयाँ र यो वर्ष ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । क्रमागत रुपमा माङहिम र अन्य भौतिक पुर्वाधार निर्माण गर्न गाउँपलिकाले बजेट छुट्याएको छ ।

लिम्बू समुदायको धर्मग्रन्ध मुन्धुमको केन्द्र भागमा तागेरा निङवाभुमाङ रहेको र उनलाई समग्र लिम्बू जातिले युमा भनी पूजाआजा गर्दै आएका छन् ।

Read more

Local News