Sunday, October 27, 2024

दुर्घटनामा बितेकी आमालाई अस्पतालको वेडबाट खोज्दै घाइते बालक : डडेलधुरा बस दुर्घटना

Share

मंसिर ९, काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा… भन्दै रोइरहेका छन् । गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए ।

नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ । त्यसैले, बेडमा रुँदै खोजिरहेका छन्, आमा..आमा..आमा.. । डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसै मध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदने पनि कोही छैन ।

चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । तर उनीसँग न त उपचारमा साथ दिने परिवार छ न सम्पत्ति नै । आमाको दुर्घटनामा परी मृत्यु भयो । दिदी दिपा विक घाइते अवस्थामा छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुबा नौ वर्ष अघि देखि नै घरपरिवारको सम्पर्कमा छैनन् । १४ वर्षीय दाइ मुकेश विक बालमजदुर हुन् ।

नवीनलाई हेरविचार गर्ने कोही नभएर हजुरआमा हिरा विकले रेखदेख गर्छिन् । तर, उनी आफूसँग पनि पैसा नभएको दुखेको पोख्छिन् । उपचार कसरी गराउने समस्या भएको बताउँदै उनले सहयोग जुटाइदिन आग्रह गरिन् । हिराले आमा बितेको खबर नवीनलाई गरेकी छैनन् । गाउँमै रहेकी नन्दलाई फोनमा कुरा गर्दै उनले आमालाई पठाइदिन झुटो आश्वासन मात्रै दिइरहेकी छन् । ‘बन्द भएकाले गाडी चलेको छैन, गाडी चलेपछि आमा गाडी चढेर आउनुहुन्छ अहिले नरोऊ’ भन्दै हिराले नवीनलाई सम्झाउँदैमा दिन बितेको छ ।
राजधानीबाट

Read more

Local News