Sunday, January 19, 2025

शीर्ष स्थानमा म्यानचेस्टर सिटी, लिभरपुल दोस्रोमा

Share

मंसिर ९, काठमाडौँ – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडमाथि ४–० को जित निकालेको हो ।

सिटीको जितमा पहिलो हाफमा तीन तथा दोस्रो हाफको इन्जुरी समयमा एक गोल भएको हो । उसका लागि लिरोय सानेले दुई तथा डेविड सिल्भा र रहिम स्ट्रर्लिङ्गले एक एक गोल गरे ।

सिल्भाले ११, स्ट्रर्लिङ्गले १९ तथा सानेले ३४ औँ मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लियो । उसका लागि इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गरे र ४–० को जित दिलाए ।

सबै प्रतियोगितामा गरेर पछिल्ला ८ खेलमा सिटीले लगातार जित निकालेको छ । जितपछि सिटी दोस्रो स्थानको लिभरपुल भन्दा दुई अंकले अघि रहँदै शीर्ष स्थानमा कायम छ ।

शनिबार राति नै भएको खेलमा लिभरपुलले वाट्फोर्डमाथि ३–० को जित निकाल्यो । लिभरपुलको जितमा मोहम्मद सालह, एलेक्जेण्डर अर्नोल्ड र राबर्टो फिरमिनोले गोल गरे ।

हेण्डरसन ८२ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो र पनि जित भने निकाल्यो । जितपछि उसको १३ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३५ अंक छ ।

Read more

Local News