मंसिर ९, काठमाडौँ – रियल मड्रिडको प्रशिक्षकका रुपमा सान्टियागो सोलारीको विजयी यात्रा टुंगिएको छ ।
जुलियन लोपेतेगी बर्खास्त भएपछि क्लकको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका सोलारीले त्यसपछिका चार खेलमा टिमलाई जित दिलाए । तर स्थायी प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो खेलमा भने उनले जित निकाल्न सकेनन् ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड एइबरसँग ३–० ले पराजित भएको हो । एइबरले घरेलु मैदानमा भएको खेलमा ला लिगामा रियल मड्रिडमाथि पहिलो जित दर्ता गरेको हो ।
एइबरका लागि गोन्जालो इस्कालान्ती, सर्जी एनरिच र किकेले गोल गरे । रियल मड्रिडका लागि ग्यारेथ बेलले गोल गरेका थिए तर अफसाइड भएकाले मान्यता पाएन । यस्तै करिम बेन्जिमाले गोल गर्ने राम्रो मौका बनाएका थिए ।
हारपछि छैटौँ स्थानको रियल मड्रिडको १३ खेलबाट २० अंक नै रहेको छ । १८ अंक जोडेको एइबर आठौँ स्थानमा उक्लिएको छ ।
शनिबार राति नै भएका अरु खेलमा भ्यालेन्सियाले रायो भालेकानोलाई ३–० ले हरायो भने हुएस्का र लेभान्टेले २–२ को बराबरी खेलेका छन् ।