Wednesday, October 23, 2024

सुनकाण्डको प्रतिवेदन सिंहदरबारमै गुपचुप, चार महिना पुगिसक्दा पनि थप अनुसन्धानको जिम्मेवारी प्रहरीको कुनै निकायले पाएन

Share

मंसिर १०, काठमाडौँ – चर्चित साढे ३३ किलो सुनकाण्डको अनुसन्धान अलपत्र परेको छ । प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै गुपचुप रहँदा अनुसन्धान अलपत्र परेको हो ।

गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले प्रतिवेदन बुझाउँदा थप अनुसन्धान गर्नु आवश्यक रहेको सुझाव दिएको थियो । त्यसबेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई ३३ किलो सुनबारे थप अनुसन्धानको जिम्मेवारी दिन सुझाइएको थियो ।

अघिल्लोपटक सीआईबीले समातेको साढे ३३ किलो सुनकाण्डका अभियुक्त र यो प्रकरणका अभियुक्त अधिकांश एउटै भएकाले पनि सीआईबीलाई थप अनुसन्धानको जिम्मेवारी दिनुपर्ने अधिकारीहरुको सुझाव थियो । तस्करीको र्‍याकेटमाथि नै अनुसन्धान गर्न भने विशेष टास्क फोर्स नै बनाइनुपर्ने सुझाव दिइएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको चार महिना पुगिसक्दा पनि थप अनुसन्धानको जिम्मेवारी प्रहरीको कुनै निकायले पाएको छैन ।

‘अनुसन्धानको जिम्मेवारी नतोकिदिँदा हामीले त्यसमा ध्यान दिन पाएका छैनौं’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘यसबीचमा हामीलाई केही सूचना पनि आएका थिए । तर, प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै अड्किएको अवस्थामा केही गर्न सकिएन ।’

स्रोतका अनुसार ६ असारमा व्यवसायी विमल पोद्दार पक्राउ परेसँगै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका थिए । पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन् ।

प्रधानमन्त्री चीन भ्रमणमा गएका वेला समितिले पोद्दारलाई पक्राउ गरेको थियो ।

Read more

Local News