Monday, November 11, 2024

आमाबुवाकै मृत्यु भएपछि ७ जना बालबालिकाको विचल्ली

Share

मंसिर १२, सल्यान – अल्पायुमा नै आमाबुवा गुमाएपछि ७ जना बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो । जब आमाबुवाको मृत्यु भयो अनि थपियो १८ वर्षीय कासिराम विकमाथि सम्पूर्ण जिम्मेवारी ।

काशीरामका १६ वर्षीय भीमबहादुर विक, १४ वर्षीय झुपलाल विक, ११ वर्षीय दुर्गालाल विक, १० वर्षीय रोशन विक, ७ वर्षिय शोभा विक र ४ वर्षीय दीपक विक गरी ६ जना भार्इबहिनी रहेका छन् । तीन वर्ष अघि बुवा र एक महिना अघि आमा गुमाएका कासिरामले आफू सहित सात भाइबहिनीहरूको जिन्दगी उकास्ने कोसिस गरिरहेका छन् । कासिरामले आफ्नै गाउँमा दैनिक मजदुरी गरी आफ्ना साना भाई बहिनीहरूको जसोतसो पेट भरिरहेका छन् ।

२०७४ सालमा परेको पानीसँगै आएको हावाहुरीले बास बस्दै आएको घर पनि आधा भत्काइदिएको छ । त्यही भत्किएको घरमा सात भाइबहिनीले रात काट्दै आइरहेका छन् । सम्पत्तिको नाममा भत्किएको घर, ३ रोपनी जग्गा र २ वटा बाख्रा बाहेक अरू केही छैन ।

आमा बुवाको मृत्युपछि साना भाइबहिनीलाई पालनपोषण गर्ने निकै कष्टकर भएको अभिभावक बनेका १८ वर्षीय काशीराम बताउछन् । उनी भन्छन्, ’आर्थिक अवस्था कमजोर हुँदा बिरामी भएका बुवालाई बचाउन सकिएन, बुवा बितेको तीन वर्षपछि आमाले पनि हामीलाई छोडेर जानुभयो । साना भाइबहिनीलाई के खुवाएर पालु साह्रै अप्ठेरो परेको छ ।’

गाउँघरमा दैनिक मजदुरी गरेर साँझबिहानको छाक टार्दै आइरहेको बताउँदै कासिरामले भने, ’साँझ बिहान काम गरेर छाक टारुँ कि भाइबिहिनीहरूलाई विद्यालयमा पठाऊँ साह्रै समस्यामा परेको छु ।

आफु पढ्न त कहाँको कुरा हो, घरको खर्च आफ्नो संरक्षक नहुँदा विद्यालय जानका लागि कापी कलमको खर्च जुटाउन समेत नसकेको उनले दुखेसो पोखे । गहभरी आँसु लिँदै खर्च जुटाउन नसक्दा भार्इबहिनीहरू शिक्षाको उज्यालो किरणबाट बञ्चित हुनुपरेको काशीराम बताउछन् ।
नेपाल समाचारपत्रबाट

Read more

Local News