Sunday, October 27, 2024

प्रदेश नम्बर ३ को राजधानी टुङ्गो लाग्न अझै समय लाग्ने

Share

मंसिर १२, मकवानपुर – लामो समयदेखि अलमलमा रहेको तीन नम्बर प्रदेश राजधानीको टुङ्गो लाग्न अझै केही समय लाग्ने भएको छ । झण्डै डेढ महिनापछि सोमबार र मंगलबार बसेको बैठकमा पनि राजधानीबारे बिषय प्रवेश नै नगराई अर्को सूचना नभए सम्मका लागि बैठक स्थगित भएको छ ।

लामो दवाव पछि प्रदेश सभामा प्रतिवेदन पेश भएपनि झण्डै तीन महिनापछि असोज २२ गते मात्र प्रदेश सभा बैठकमा पेश भएको थियो । प्रदेश सभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलहरुसँग परामर्श गरि सहमतीमै स्थायी राजधानी तोक्न अडान लिएपछि प्रदेश सभा बैठक समय दशैं–तिहार लगत्तै बस्न सकेन । मुख्यमन्त्री पौडेल संघीयताको मर्म अनुसारै गृहनगर हेटौंडामै स्थायी राजधानी तोकेर विकासमा केन्द्रीत हुनु पर्नेमा अडान लिदै आएका छन् । तर काठमाडौं आसपासका प्रदेश सांसदहरु राजधानीलाई प्रतिष्ठा र आफ्नो सहजताका लागि उपत्यका नजिकै राख्नुपर्ने बताउने गरेका छन् ।

मुख्यमन्त्री पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल आईतबार कतार भ्रमणमा गएपछि राजधानीको छलफलले गति लिन सकेको छैन । ४ दिने भ्रमणका लागि आईतबार कतार गएका मुख्यमन्त्री पौडेल, मन्त्री नेपाल बिहीबार फर्किए पछि राजधानीबारे छलफलले तिव्रता पाउने नेकपा श्रोतले जनाएको छ ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ ।

यसै विच ९९ वटा कानून बनाउनु पर्ने तीन नम्बर प्रदेश सभाले मंगलबारसम्म २३ वटा विधेयक पारित गरेको छ । जसमध्ये अधिकांश विधेयक प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाणित गरी ऐन (कानून) को रुप लिई सकेको छ ।
नागरिकबाट

Read more

Local News