Friday, July 11, 2025

नेइमार पिएसजीका सामु निरिह बन्यो सालहको लिभरपुल

Share

मंसिर १ ३, काठमाडौँ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलपछि गएको वर्षको फाइनलिस्ट लिभरपुललाई यो सिजन नकआउट चरणमा स्थान बनाउनका लागि हम्मेहम्मे पर्ने देखिएको छ ।

लिगको समूह चरण अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग २–१ ले पराजित भयो ।

समूह सी अन्तर्गतको खेलमा घरेलु टोली पिएसजीलाई जिताउन नेइमार र आन बर्नेटले गोल गरे । लिभरपुलका लागि जेम्स मिल्नरले एक गोल फर्काए । दुवै तर्फबाट पहिलो हाफमा नै गोल भएको हो । दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन ।

पिएसजी चोटमुक्त भएका नेइमार र केलियन एमबाप्पेसहित मैदानमा उत्रिएको थियो । मोहम्मद सालहसहितको लिभरपुल पिएसजीको अगाडि यो खेलमा कमजोर देखियो ।

१३ औँ मिनेटमा बर्नेटले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । नेइमारले ३७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयका लिभरपुलले पेनाल्टी पायो । त्यसमा मिल्नरले गोल गरे ।

पिएसजीले दोस्रो हाफमा गोल गर्ने राम्रा मौका बनाएको थियो तर गोल भने हुन सकेन । मार्किनोसले गोल गरेका थिए तर अफसाइड भएकाले मान्यता पाएन । जितपछि पिएसजीले समूह सी को दोस्रो स्थानमा उक्लिएको छ, उसको आठ अंक भएको छ । पराजित भएको लिभरपुल ६ अंकसहित तेस्रो स्थानमा छ ।

समूह सी अन्तर्गतकै खेलमा नापोलीले रेड स्टार बेलग्राडलाई ३–१ ले हरायो । अब लिभरपुलले अन्तिम १६ मा स्थान बनाउनका लागि समूह चरणको अन्तिम खेलमा अहिले शीर्ष स्थानमा रहेको नोपोलीलाई हराउनु पर्नेछ । यस्तै पिएसजीले समूह चरणको अन्तिम खेलमा रेड स्टारसँग खेल्नेछ ।

Read more

Local News