मंसिर १३, लमजुङ – लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले बुधबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका थियो ।
“वृद्धा अवस्थामा रहनुभएकालाई घरमा नै गएर सार्वजनिक सेवा सुविधा दिन पाउँदा आफू निकै खुशी भएको छु”, प्रजिअ ढकालले भन्नुभयो । आवश्यक सबै प्रक्रिया पूरा गरी कार्यालयको कामलाई असर नगर्ने तरिकाले नागरिकता फाँटको अभिलेख किताबसहित कार्यालय समय सकिएपछि प्रजिअ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
“नेपाली नागरिकताको खासै खाँचो भएन, अस्थायी निस्साबाट नै काम चलाएका थियौं, वस्तीका कान्छा छोरा नारायणप्रसादले भन्नुभयो, “स्थानीय तह आएपछि सरकारले प्रदान गरिने सामाजिक सुरक्षाभत्ता (वृद्धा भत्ता) बुबाले पाउनु भएन, बैंकमार्फत दिन थालेपछि नागरिकताको अभावमा बुबाले सामाजिक सुरक्षाभत्ता पाउनुभएन, बैंकले नागरिकता नभई पैसा दिएन ।”
बैंकले नेपाली नागरिकता खोजेपछि एक वर्षदेखि वस्तीले वृद्धा भत्ता पाउनुभएको छैन । वडा सचिव र जिल्ला प्रशासन कार्यालयको सहयोगमा बुवालाई घरमा नै नेपाली नागरिकता दिन पाउँदा खुशी लागेको छ । “घरमा नै सरकारी सेवा पाउन सहज हुन्छ भन्ने थाहा भएको भए यसअघि नै बुवाको नागरिकता बनाउने कोसिस गर्थे”, उहाँले भन्नुभयो ।
विसं १९९० को भूकम्पपछि वस्तीका सहपरिवार तनहुँको भन्सारबाट लमजुङको साविकको उदिपुर गाविसमा बसाइँसरी आएकाे थियो । वस्तीका दुई छोरा र तीन छोरी छन् ।