Sunday, October 27, 2024

रोनाल्डो र मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जिते

Share

मंसिर १८, काठमाडौँ – दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेका छन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिकले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता दिएका छन् ।

रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर मोड्रिकले सन् २०१८ को बालोन डी’ओर अवार्ड जितेका हुन् । उनी दशक भन्दा लामो समयमा यो अवार्ड जित्ने क्रिष्टियानो रोनाल्डो वा लियोनल मेस्सी बाहेकका पहिलो खेलाडी हुन् । रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक यो अवार्ड जितेका छन् ।

३३ वर्षका मोड्रिकले गएको मे मा लगातार तेस्रो पटक च्याम्पियन्स लिग अवार्ड जितेका थिए भने गएको जुलाईमा सम्पन्न विश्वकप फुटबलमा उनको देश क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा लगेका थिए ।

सन् २००७ मा ब्राजिल तथा एसी मिलानका पूर्व खेलाडी काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले नै अवार्ड जित्दै आएका थिए । मोड्रिक काकापछिका पहिलो त्यो खेलाडी बनेका छन्, जो रोनाल्डो वा मेस्सी बाहेक यो अवार्ड जित्न सफल भयो ।

गएको वर्षका विजेता रोनाल्डो जो अहिले इटालियन क्लब युभेन्टसमा छन्, उनी दोस्रो भए । बार्सिलोनाका कप्तान मेस्सी पाँचौँ भए । एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो तथा पिएसजीका केलियन एमबाप्पे चौथो स्थानमा रहे । दुवै फ्रान्सेली खेलाडी हुन् र उनीहरुले गएको जुलाईमा विश्वकपको उपाधि जितेका थिए ।

फ्रेन्च फुटबल म्यागजिनले हरेक वर्ष एकजना उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको थियो । मोड्रिकले अवार्ड पाएपछिको कुराकानीमा १० वर्षसम्मको रोनाल्डो–मेस्सी दबदबामा अवार्ड उचाल्नबाट चुकेका खेलाडीमा आफ्नो अवार्ड समर्पित रहेको बताए । मोड्रिकले रोनाल्डो र मेस्सी सर्वोत्कृष्ट खेलाडी रहेको पनि बताए ।

बालोन डी’ओरमा यो वर्ष लिभरपुल तथा इजिप्टका मोहम्मद सालह छैटौँ, रियल मड्रिड तथा फ्रान्सका राफायल भाराने सातौँ, चेल्सी तथा बेल्जियमका इडन हजार्ड आठौँ, म्यानचेस्टर सिटी तथा बेल्जियमका केविन डी ब्राउन नवौँ र टोटनह्याम तथा इंग्ल्याण्डका ह्यारी केन दशौँ स्थानमा रहे ।

फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म पिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर बनेको थियो । त्यसपछि फेरि सहकार्य तोडियो, फिफा र बालोन डी’ओरले छुट्टाछुट्टै अवार्ड दिन थाले ।

Read more

Local News