Wednesday, October 23, 2024

एसपी बढुवाको तयारी, नियमावली संशोधनको निवेदन गृहमा

Share

मंसिर १९, काठमाडौँ –  प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न कानूनी बाधा परेपछि नियमावली संशोधन गरेर भए पनि बढुवाको तयारी गरिएको छ।

असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि रिक्त भएको ११ एसएसपीको पद र त्यसभन्दा अघि नै रिक्त भएको ४ एसएसपीको पद गरी १५ एसएसपीको पद अहिले खाली छ।

प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तिमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान भएकाले १५ एसएसपीको दरबन्दी फागुनसम्म खाली हुने भएको हो। अहिले एसएसपीका प्रतिस्पर्धीहरु २०७१ साल फागुन १० गते एसपी भएका थिए। फागुन १० गते मात्रै एसपी भएको ४ वर्ष पूरा हुने भएकाले प्रहरी नियमावली अनुसार उनीहरुको बढुवा गर्न फागुन १० सम्म कुर्नपर्ने भएको थियो।

यसभन्दा अघि एसपीबाट एसएसपीमा बढुवा गर्दा सबैजनाको ४ वर्ष पूरा भइसकेकाले समस्या आएको थिएन। तर, यसपटक भने एसपीमा बढुवा भएको ४ वर्ष नपुग्दै एसएसपीमा बढुवा गर्नुपर्ने भएकाले समस्या आएको हो। अहिले एसएसपीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ र ०५२ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन्। उनीहरु २०७१ फागनु १० गते एसपीमा बढुवा भएका थिए।

लामो समयसम्म एसएसपीको दरबन्दी खाली भएकाले प्रहरीको दैनिक पुलिसिङ, चेन अफ कमाण्ड, अनुगमन तथा निर्देशनमा प्रत्यक्ष असर परेकाले प्रभावकारी काम कारबाही हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालय नियमावली संशोधनको माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो। ‘गृहले आवश्यक छानबिन गरेर नियमावली संशोधन गरी मन्त्रीपरिसदबाट स्वीकृत गराएपछि एसपीको बढुवाले गति लिन्छ’ स्रोतले भन्यो।

नियमावली संशोधनको लागि पत्राचार गर्नुभदा पहिला प्रहरी प्रधान कार्यालयले एसपीबाट एसएसपी बढुवाको विषयमा लोकसेवा आयोगसँग समेत परामर्श लिएको थियो।

यसबारे बढुवा समितिका अध्यक्ष गृह मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेका अतिरिक्त प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको समितिले लोकसेवासँग परामर्श गरेको थियो। तर नियमावलीमा ४ वर्ष पूरा हुुनुपर्ने उल्लेख भएकाले फागुनसम्म बढुवा गर्न नमिल्ने लोकसेवा आयोगले जवाफ फर्काएपछि नियमावली संशोधन गर्नुको विकल्प नरहेकाले संशोधनको लागि गृहलाई प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको हो।

यस्तो छ नियमावलीमा व्यवस्था
प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तिमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ।

प्रहरी नियमवालीको नियम ४ मा प्रहरीको श्रेणी र पद छुट्याइएको छ। जसमा राजपत्राङ्कित र राजपत्र अनङ्कित श्रेणी छन्। राजपत्राङ्कित भित्र विशिष्ट श्रेणीमा प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रथम श्रेणीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक, द्वितीय श्रेणीमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक र तृतीय श्रेणीमा प्रहरी निरीक्षक पद पर्दछन्।

प्रहरी नियमवालीको नियम २८ अनुसार बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिका बारेमा उल्लेख गरिएको छ। नियम २८ (१) का अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा तल उल्लेखित सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ।

(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि ४ वर्ष।
(ख) प्रहरी सेवाको राजपत्र अनंङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि ८ वर्ष।
(ग) राजपत्रअनंङ्कित पदका लागि ४ वर्ष।

एसपी पद राजपत्राङ्कित पद भएकाले एसएसपीमा बढुवा हुन ४ वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ।

को–को छन् एसएसपी बढुवाको दौडमा?
यसपटक ३५ एसपीहरु एसएसपी बढुवाको दौडमा छन्। एसपीहरु नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।

त्यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच प्रतिस्पर्धा हुनेछ।

Read more

Local News